• २०८१ बैशाख ८ शनिबार

कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नहटाउँदा काम अवरुद्ध

kharibot

फाइल तस्बीर

ललितपुर। नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलंकी सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ । 

सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पुर्याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

सातदोबाटो, थसिखेल, ग्वार्खाे, बालकुमारी लगायतका स्थानमा सडक छेउमा धेरै अस्थायी घरटहरा रहेको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । अस्थायीरुपमा काठका गोदाम, कवाडी लगायतका पसल यस स्थानमा रहेका छन् । वडा कार्यालय र नगर विकाय कार्यालयले ३१ मिटर मापदण्डका आधारमा चिह्न लगाउँदा यी संरचना भत्काउन भनेको थियो । तीन वर्ष नाघ्दासमेत उनीहरुले टहरा भत्काएका छैनन् । उनले भने, “संरचना हटाएर सडक खाली गर्न पटकपटक सार्वजनिक सूचनासमेत जारी भएको छ ।” 

चक्रपथ रहेको ३१ मिटरभित्रै घरटहरा छन् । योजनाले पटकपटक ताकेता गर्दा पनि घरटहरा प्रयोग गर्दै आएकाले भत्काउन अटेर गर्दै आएका छन् । उनले भने, “घरटहराले गर्दा काममा बाधा पुगेको सरोकारावाला निकायलाई समेत हामीले जानकारी गराइरहेका छौँ ।” 

सडक निर्माणका क्रममा विभिन्न अवरोध सामना गर्न परिरहेको इञ्जिनियर शर्मा अर्यालले बताए । सडकमा रहेका विद्युत् र टेलिफोनको पोल सार्ने, खानेपानी र ढलको पाइप सार्ने काममा सम्बन्धित कार्यालयले ढिलाइ गर्दै आएका छन् । सम्बन्धित कार्यालयले पाइप वा पोल सार्नका लागि बजेटको अभाव देखाउने गरेका छन् । उनले भने, “हामीले यहाँबाट नै बजेट दिँदासमेत समयमा काम हुँदैन ।” 

काम गर्ने जिम्मेवारी पाएको कम्पनी आफैँले ती स्थान खाली गर्नुपर्ने नियम छ । सडक निर्माणका क्रममा साइड खाली गर्न नै समय लागेको उनले बताए । उनले भने, “त्यसले पनि काममा ढिलाइ भएको छ ।” चिनियाँ कम्पनीले समयमै काम सक्न लागिपरेको उनले बताए । 

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन कोटेश्वरदेखि कलङ्कीसम्मको सडक १० दशमलव ४ किलोमिटर लम्बाइ रहेको छ । सडक निर्माणको जिम्मेवारी सङ्घाई निर्माण समूहले लिएको छ । मुख्य चार लेन र सहायक चार लेन गरेर आठ लेन चिनियाँ कम्पनीले गर्ने सम्झौता भएको थियो । दुवैतिर छ मिटर चौडा सेवा मार्ग निर्माणको जिम्मेवारी सरकारको हो । 

मुख्य र सहायक मार्गका काम झण्डै अन्तिम चरणमा पुग्दा सेवा मार्गको काम अझै धेरै बाँकी नै छ । कोटेश्वबाट झण्डै बालकुमारीसम्म चक्रपथभित्र र बाहिर पर्ने दुवै सेवा मार्ग कालोपत्र सकिएको छ । चक्रपथबाहिर ग्वार्खाेबाट सातदोबाटो एन्फासम्म चक्रपथभित्र पर्ने मार्गको कालोपत्र सकिएको छ । उनले भने, “यी टहरा हटाएर सडक खाली हुँदा मात्रै समयमा सबै लेन कालोपत्र हुनेछ ।” 

यो सडकमा मुख्य मार्ग, सहायक मार्ग र सेवा मार्ग गरेर तीन खालका सडक छन् । सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई–दुई लेनको सहायक लेन र त्यो बाहिर एकएक लेनको सेवा मार्ग रहेको छ । सवारी सर्भिस ट्र्याकबाट सहायक हुँदै मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । सेवाबाट सहायक र सहायकबाट मुख्य सडकमा छिर्नका लागि निश्चित ठाउँ रहेका छन् । 

पहिले ४० निर्माण सम्पन्न गर्ने गरेर चीनसँग नेपाल सरकारसँग सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण २०७२ सालमा निर्माणको काम ठप्प भएपछि सरकारले एक वर्ष थप गरेको हो । सडकको जम्मा लागत रु एक अर्ब छ । आगामी डिसेम्बरसम्ममा सडक निर्माण सक्ने सम्झौतामा उल्लेख छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै