• २०८१ बैशाख १२ बुधबार

वीरगन्ज महानगरका अधिकृतसहित तीनजना घुस रकमसँगै अख्तियारको नियन्त्रणमा

kharibot

वीरगन्ज।  वीरगन्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृतसहित तीनजना अख्तियारको नियन्त्रणमा परेका छन्। विद्यालयलाई अनुमतिका लागि घुसबापत लिएको एक लाख रुपैयाँसहित अख्तियारको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा शाखा अधिकृत मन्जुर आलम, प्राविधिक सहायक नायबसुब्बा शशीभूषणप्रसाद साह र शशीभूषणका भान्जा अरुण साह छन्।

अख्तियारको हेटौंडा कार्यालयबाट आएको टोलीले बहुअरीस्थित पुरकन इन्टरनेसनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रयोजनका लागि विद्यालय सञ्चालक एकबाल हैदरसँग घुसबापत लिएको रकमसहित पक्राउ गरेको हो।

विद्यालय सञ्चालकसँग घुस लिँदै गर्दा अरुणलाई अख्तियारको टोलीले सुरुमा लाठगल्लीबाट नियन्त्रणमा लिएको थियो। उनको बयानका आधारमा अख्तियारको टोलीले शाखा अधिकृत आलम र नायबसुब्बा शशीभूषणलाई महानगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

माघदेखि नै दौडधूप गर्दा पनि पैसा नदिईकन काम नगरेपछि अख्तियारलाई सूचना दिएको एकबालले बताए। कक्षा ५ सम्मको अनुमतिका लागि सुरुमा पाँच लाख रुपैयाँ माग गरे पनि एक लाखमा सहमति भएको जनाइएको छ। तीनै जनालाई आवश्यक कारबाहीका लागि अख्तियारको टोलीले हेटौंडा लिएर गएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै