• २०८१ बैशाख ८ शनिबार

सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

kharibot

फाइल तस्विर । 

काठमाडौँ /  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । 

सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए । 

अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ । त्यो सडक पानी प्रशोधन केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण गर्नुअघि नै बनिसकेको थियो । सडक बन्द गरे पर्यटकीय केन्द्र चिसापानी हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत स्थानमा जाने पर्यटक पनि प्रभावित हुनेछन् । 

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलालगायत थप तीन खोलाको पानी सुरुङ मार्गबाट काठमाडौँको सुन्दरीजलस्थित महाँकालमा ल्याई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गर्ने बाटो बन्द गर्न लागेको हो । 

गोकर्णेश्वर नगरपालिका–१ महाँकालका नागरिकसमेत मेलम्ची खानेपानी आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् । आयोजनाले समस्याको सुक्ष्म अध्ययन गरी समाधान गर्न अनुरोध गरिएको उनले बताए । “सुन्दरीजललाई आयोजना प्रभावितको सूचीमा समेत समावेश नगरी मेलम्ची खानेपानी आयोजनाले परापूर्वदेखि नागरिकले प्रयोग गरिरहेको प्रचलित र सहज बाटो बन्द गर्ने कार्यक्रम स्थगित गर्न माग गरेका छौँ,” उनले भने । 

वार्ता गरी समस्याको समाधान गर्न स्थानीयवासीले आयोजनासँग माग गरेका छन् । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल सडकको दुवैतिर पानी प्रशोधन केन्द्र बन्ने भएकाले छेउबाट घुमाएर लैजान खोजिएको बताउछन् 

पहिल्यै खुलेको सडक आयोजनाले स्तरोन्नति गरेको थियो । प्रशोधन केन्द्र निर्माणका लागि सुन्दरीजलमा २०० रोपनी जग्गा अधिग्रहण गरिएको छ । यहाँ मेलम्ची, याङ्री र लार्के गरी तीनै खोलाको पानी ल्याई प्रशोधन गर्ने केन्द्र निर्माण हुनेछ । मेलम्चीको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भइसकेको छ । आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै