• २०८१ बैशाख ५ बुधबार

अश्लिल होइन सपना देख्नेहरुको संघर्षको कथा हो कथा काठमाडौँ : संगीता श्रेष्ठ, निर्देशक

kharibot

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘कथा काठमाडौं’की निर्देशक संगीता श्रेष्ठ मिडियाकर्मी पनि हुन् । विगत १५ वर्षदेखि निर्देशनको क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले ७० वटाभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकी छिन् । कान्तिपुर टेलिभिजनमा आबद्ध भइसकेकी श्रेष्ठको म्युजिक भिडियो डाइरेक्सनबाट सुरु भएको यात्रा अहिले फिल्म निर्देशनसम्म पुगेको छ । ‘जहाँ भामर छ’ भन्ने गीतको लागि उनको टिमले बेस्ट म्युजिक भिडियो अवार्ड पाएको थियो । उनले कान्तिपुर टेलिभिजनका लागि ‘कथा प्रेमका’ भन्ने ‘सर्ट स्टोरी’ (टेलिसिरियल) पनि निर्देशन गरेका थिइन्, जुन १३ भागको थियो । नेपालय पब्लिकेसनबाट ‘कथामा अल्झिएका प्रेम’ कथा संग्रह पनि निकालेकी छिन् उनले । कथामा अल्झिएका प्रेम ‘लभस्टोरी’ हो । कथामा अल्झिएका प्रेममा १० वटा दुःखान्त र सुखान्त दुवै खालका कथाहरु छन् । पुस्तकपछि ‘कथा काठमाडौं’ उनै बहुप्रतिभाशाली व्यक्तित्व संगीता श्रेष्ठको पहिलो फिल्म निर्देशन हो । उनै श्रेष्ठसँग खरीबोटकी सकला दवाडीले गरेको कुराकानीको सम्पादित अंश :

निर्देशनको क्षेत्रमा कसरी लाग्नुभयो ? 

यो कस्तो हो भने म मिडियामा हुनु, अरुले निर्देशन गरेको देख्नु मलाई पनि त्यसमा रुचि हुनु, यी सबै कुरा एक अर्कामा परिपूरक भनेजस्तै भएर नै म निर्देशनतर्फ तानिएँ । म आफँै मिडियाकर्मी भएपछि जुन बेला म आफैँ काम गर्थेँ, त्यसै बेलाबाट नै म यता होमिएँ । कान्तिपुरभन्दा पहिला इमेज टेलिभिजनमा काम गर्थेँ । जुन बेला म इमेज च्यानल टेलिभिजनमा थिएँ, त्यो बेलादेखि नै म्युजिक भिडियोहरुको एकदमै चहलपहल हुन्थ्यो ।  दर्शकहरुले पनि कसको म्युजिक भिडियो आयो, कस्तो आयो, के आयो भन्ने कुरामा ध्यान राख्नुहुन्थ्यो । त्यो क्रममा नै मलाई जानी नजानी म्युजिक भिडियोतिर रुचि भएर म्युजिक भिडियो डाइरेक्सन गर्न सुरु गर्न थालेकी थिएँ । 

तपाईंले निर्देशन गर्नुभएका म्युजिक भिडियोहरुबारे पनि सुनाइदिनुहोस् ?

मैले दिएका थुप्रै म्युजिक भिडियोहरु एकदमै चर्चामा पनि आए । जस्तै “माछी मार न” गीत भयो रिमिक्समा, “सुन सुन सनम”, “काली सुन्दरी” भन्ने गीत जुन ऋचा घिमिरेलाई “काली सुन्दरी”को टाइटलै दियो । कत्ति गीत त मलाई यादै छैन । ‘लिस्ट’ नै भन्ने हो भने मेरो म्युजिक भिडियोबाट पहिलोचोटि मेरो म्युजिक भिडियोबाट परिचय पाएर यो फिल्डमा लाग्नेहरुमा एक जना इन्दिरा जोशी पनि हो । इन्दिरा जोशीले पहिलो म्युजिक भिडियो गरेको नै ‘माछी मार न’बाट हो ।  जुन गीतमा उनको आफ्नै आवाज थियो ।  कलाकार थिए निरज बराल । उसले पनि पहिलोचोटि मेरै म्युजिक भिडियोबाट क्यामेरा ‘फेस’ गरेको हो । अहिले देखिने धेरैजसो नायिकाहरु पनि कुनै न कुनै बेला मेरो म्युजिक भिडियोमा देखिँदै ठोकिँदै आउनुभएको छ ।  

त्यसरी पनि फिचर फिल्ममा आउनेहरुको संख्या धेरै छ । मचाँहि फिचर फिल्ममा अलि ढिलै आएँ । अलिकति समय लगाएँ किनभने कुनै पनि क्षेत्रमा हात हाल्दा रिसर्च नगरी काम गर्नुहँुदैन भन्ने मेरो सोच भएकाले अलि ढिलो गरी आएँ । समय लिएर, बुझेर आउनुपर्छ भन्ने भएर नै म ढिलो गरेर आएकी हुँ । योभन्दा अगाडि ‘सिनेमा फेस्ट’ र ‘सिन बाइ सिन’ भन्ने दुईवटा फिल्मसम्बन्धी कार्यक्रम गर्दै आएको थिएँ कान्तिपुर टेलिभिजनमा । यो दुईवटा कार्यक्रम गर्ने क्रममा फिल्मसँग नजिक पनि भएँ । फिल्म बुझ्न, अध्ययन गर्न पाएँ । धेरै कुराहरु त्यहाँबाट ‘एनालाइज’ गरिसकेपछि मात्र म फिल्म क्षेत्रमा आएको हुँ ।

कसैलाई काठमाडौं आएर धेरै पैसा कमाउनु छ, या कसैलाई धेरै पढेर ठूलो मान्छे बन्छु भनेर सपना बोकेर आउने मान्छेहरु हुन्छन् नि ! हो, त्यस्ता मान्छेहरुलाई चाहिँ बढी ‘टार्गेट’ गरिएको छ ।

‘कथा काठमाडौं’ कस्तो खालको फिल्म हो ? 

‘एक्सन’ नभईकन यो एउटा सामाजिक कथा हो । टाइटल कथा काठमाडौं भनेर सुन्नेबित्तिकै धेरै जनाले काठमाडौंको मात्र कथा ‘बेस’ हो भनेर सोच्छौं, बुझ्छौँ । तर होइन । धेरै हदसम्म हो पनि हुनलाई । तर कस्तो भने हामीमध्ये धेरै व्यक्तिहरु काठमाडौं बाहिरबाट काठमाडौंमा विभिन्न सपनाहरु सोचेर आउँछौँ । चाहे डाइरेक्टर, एक्टर, पत्रकार जो कोही हुनसक्छ या कसैलाई काठमाडौं आएर धेरै पैसा कमाउनु छ, या कसैलाई धेरै पढेर ठूलो मान्छे बन्छु भनेर सपना बोकेर आउने मान्छेहरु हुन्छन् नि ! हो, त्यस्ता मान्छेहरुलाई चाहिँ बढी ‘टार्गेट’ गरिएको छ । 

के विषयवस्तु उठान गरिएको छ ?   

काठमाडौं आइसकेपछिको ‘स्ट्रग्गल’ कस्तो हुन्छ ? उसका सपना सजिलै पूरा हुन्छ÷हुँदैन, के हुन्छ ? भन्ने खालका विषयवस्तु समेटिएको छ । धेरैजसो फिल्महरु एउटै विषय उठाएर सकिएको हुन्छ । यसमा मैले तीनवटा कथाहरुको उठान गरेकी छु । तीनवटै कथाहरुको केही पात्रहरु एक अर्कासँग जोडिएका छन् ।  

पीजी सर्टिफिकेटको कुरा के हो ? 

पीजी सर्टिफिकेट एउटा ‘नर्मल’ फिल्म जुन परिवारसँग सबै जना बसेर हेर्न मिल्छ । त्यही सर्टिफिकेट हामीले पाएका हौँ । 

हाम्रो फिल्ममा काठमाडौं आइसकेपछि ड्रग, नशाजस्ता लतमा लाग्ने कुरा पनि देखाउन खोजिएको छ । त्यही भएर अभिभावकसँग बसेर हेर्ने भनेर सर्टिफिकेट दिइएको हो ।  

तर फिल्मको प्रोमोलाई ‘अश्लील’ पनि भनियो नि ! कस्तो खालको सन्देश दिन खोजिएको हो ? 

पहिलो कुरा त कसैको पनि भिडियोलाई ‘अश्लील’ भन्न पाइँदैन । यसलाई ‘अश्लील’ भन्ने अधिकार कसैलाई पनि छैन किनकि कुनै कुरा हेर्दा चित्त बुझेन भने त्यसलाई सभ्य भाषामा आपत्तिजनक भन्न सकिन्छ । आम पत्रकारले सामाजिक शब्द प्रयोग गर्न कोसिस गर्नुपर्छ ।  

प्रोमोको कुरा जुन बाहिर हल्ला चलेको छ, त्यो गलत हो । प्रोमो रोक, फ्याँक भन्ने खालको चिठी आयो । त्यो गलत भएको छ भनेर पत्रकारलाई बुझाउँदा पनि उनीहरुले बुझिदिएनन् ।  

त्यो ट्रेलर, त्यो प्रोमो रोक्नु भनेकै होइन के !  त्यो के भनिएको हो भने प्रोमोसँगै एउटा लिंक जुन पठाएको थियो । त्यो लिंकचाहिँ हटाऊ भनिएको हो । त्यो लिंक चाहिँ हाम्रो भिडियोको क्लिप्स काटेर अनावश्यक रुपमा आफ्नो इच्छाअनुसार जे पायो, त्यही गरेर कोही कसैले हालिदियो । त्यो लिंक हटाउनलाई ‘हेल्प’ गर भनेको हो । ट्रेलर नै फ्याँक भनेको होइन । यो कुरा जसले अध्ययन गर्नुभयो, बुझ्नुहुन्छ । ट्रेलर हटाऊ भनेको होइन ।

अफिसियल लिंकसँग यसको सम्बन्ध नै छैन के । त्यो बिगार्ने मान्छेलाई आउनुपर्ने हो । जसले हाम्रो चिजको दुरुपयोग गरेको छ । जुन लिंक हटाऊ भनेको थियो, त्यो ट्रेलर होइन मिडियाको साथीहरुले ‘मिस्टेक्ली’ लेखेका छन् । मैले प्रष्ट भनेको थिएँ तर ट्रेलर भनेर मात्र बुझ्यौँ । 

मैले केटी मान्छेको ‘पेन’ देखाउन खोजेको हो । नत्र दुई जना केटाकेटीबीचको ‘इन्टिमेट सिन’ देखाएर सस्तो ‘पब्लिसिटी’ पाउनुपर्ने न मेरो स्थिति, न मेरा ‘आर्टिष्ट’हरु र न त मेरो फिल्मको नै छ ।

र फेरि ट्रेलर त सबैले हेरेकै छन् नि ?

यो कारण पनि हो, ट्रेलरमा देखाइएको एउटा दृश्यमा महिला पात्रमाथि बलात्कार गरेको देखाइएको छ । त्यसलाई अश्लील भनिएको हो । हामी जो मिडियामा छौं । हामीले यो कुरा नउठाए कसले उठाउँछ  ? हामी केटी मान्छे हामीले घरभित्र यदि श्रीमानबाट बलात्कृत हुनुपर्छ भने त्यो चिज मैले उठाएको हो, के गल्ती गरेँ त ? कि मैले यो पुरुषप्रधान देश हो नउठाऊँ न त सहेरै बसौं भन्नुपर्यो । कि चुप लाग्नुपथ्र्यो । त्यो कुरालाई मैले पत्रकार भएको हिसाबले बाहिर ल्याउन खोजेँ । यस्ता कुरा धेरै देखें काठमाडौंबाहिर, काठमाडौंभित्रका समाजमा देखें, त्यो देखेको कुरालाई एउटा कथाको रुपमा बाहिर ल्याएको न हो । 

यसबाट भोलि मानिस सचेत हुन्छ । चार जना मात्रै भए पनि केटीहरुले यो चिज भोग्नु पर्दैन । त्यही पीडा भोग्नुपर्दैन भने मैले कोसिस गर्नुपर्छ भनेर मैले ल्याउन खोजेँ । त्यो चिजलाई अश्लील नाम दिइयो । भिजुअलमा जे देखिएको छ, त्यो कुरा मात्र म्युट गरेर अश्लील जुन नाम दिइएको छ । त्यो चिजलाई हामीले बुझ्नुपर्छ । फिल्मको उद्देश्य बुझ्नुपर्छ । मैले सस्तो लोकप्रियताको लागि यदि त्यो फिल्म बनाएको हुन्थें भने आज सेन्सर बोर्डले त्यो फोटो पीजी नै दिँदैनथ्यो नि ! कसैको पनि क्रिएसनलाई अश्लील नाम दिने अधिकार कसैलाई पनि छैन । आपत्तिजनक भन्न सकिन्छ  । 

 

फिल्मी क्षेत्रमा पारिश्रमिक दिँदा महिला र पुरुष भन्ने चलन कत्तिको छ ?  

म एक त पहिलोचोटि फिल्म क्षेत्रमा प्रवेश गर्दै छु । एउटा फिल्म मेकरको जेण्डर कहिल्यै पनि हुँदैन । फिल्म मेकर फिल्म मेकर नै हुन्छ । ऊ पुरुष निर्देशक, महिला निर्देशक हुँदैन ।  किनभने महिलाले पनि त्यही भिजुअल उतार्ने हो जुन पुरुष निर्देशकले उतार्छ ।  

तर पनि यो प्रश्न बारम्बार आउने गर्दछ । मैले भन्नुपर्ने हुन्छ— मैले पहिलोचोटि फिल्म निर्देशन गरेको हुँ । जुन पारिश्रमिक मैले पाएको छु, त्यो कुनै पुरुषले पाउनेभन्दा कम छैन । र हाम्रो होल टिममा नै यो महिला हो, यो पुरुष हो भन्ने आधारमा पारिश्रमिकमा विभेद छैन ।  

भनेपछि निर्देशक महिला या पुरुष हुनुले केही फरक पार्दैन  ? 

सायद यस्तो हुन्छ, हामी केटी मान्छे भएको हिसाबले अलि सेन्सेटिभ भएर सोच्छौं । हो, त्यो चिज ममा पनि छ । के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराको अन्दाज छ । ‘सेल्फ सेन्सर’ गर्ने ‘सेन्स’ पनि छ । ‘फिमेल क्यारेक्टर’लाई उतार्दा अझ धेरै ‘कन्सस’ हुन्छु म । केटी मान्छेलाई उतार्न खोज्दा उसको मेकअप, ड्रेसअप हेयर स्टाइल, बडिल्याङ्ग्वेज, हाउभाउ उतार्दा ‘ब्युटिनेस’चाहिँ उतार्न सक्छु । यसमा नै बढी ध्यान जान्छ । यो ‘प्लस प्वाइन्ट’ हो ।  अझै बढी मेकपकको कुरा महिला भएको आधारमा थाहा हुन्छ ।

यो क्षेत्रमा कस्ता समस्याहरु रहेछन् ? 

पारिश्रमिक तोकिन्छ तर तोकिएको दिइँदैन भन्ने धेरै सुनेको छु तर म नयाँ हो । यो क्षेत्रमा पहिलेदेखि देखिँदै आएको समस्याचाहिँ पहिला जुन पारिश्रमिक तोकिन्छ, काम सकिँदा त्यो पाइँदैन भन्ने हो । ‘मेन’ कुरा आफूले लिएको जिम्मेवारी पूरा गर्नु हो । समयसीमाभित्र काम भ्याउनुपर्छ । सकिहालिन्छ नि के हतार गर्नुपर्यो भन्ने प्रवृत्ति हो । पछाडि हतारमा गर्ने गरेको देखिन्छ ।  

तपाईंको पहिलो निर्देशकीय काम ‘कथा काठमाडौं’को ट्रेलरको टिप्पणी गर्नेहरुलाई के भन्नुहुन्छ ?

मैले आफ्नै ट्र्याक बनाएर हिँड्न खोजेकी हुँ । चल्तीअनुसार तपाईंको फिल्ममा चाडपर्वमा नाच्ने गीत राख्न सुझाउनेहरु पनि हुनुहुन्थ्यो । चल्नको लागि मात्र फिल्म बनाउनुहुँदैन । मेरो फिल्मको स्क्रिप्टमा त्यो गीत अटाउने ठाउँ नै छैन भने प्रमोसन हुन्छ भनेर त्यो चलाउनुहँुदैन, राख्नुहुँदैन । जुन कुरा मेरो हो, त्यो बाहिर ल्याउनुपर्छ भनेर काम गरेकी छु । 

हामी केटी मान्छे हामीले घरभित्र यदि श्रीमानबाट बलात्कृत हुनुपर्छ भने त्यो चिज मैले उठाएको हो, के गल्ती गरेँ त ?

यो फिल्मको भिडियोलाई नराम्रो देख्नेहरुले इन्टिमेट सिन देखायो भन्नेहरुलाई अब फेरि एक पटक हेर्नुहोस्, त्यहाँ केटी मान्छेको दुःखाइबाहेक केही पनि देख्नुहुन्न । एउटा यस्तो केटी मान्छे जसको श्रीमानले केटासाथीले ‘स्टार्टिङ’देखि ‘पब्लिक प्लेस’मा ‘फिजिकल्ली’ ‘अब्युज’ गरिराखेको छ । उसलाई पब्लिक ठाँउमा ‘कम्फर्ट’ नहुँदा नहुँदै पनि सहिरहेको छ । त्यो क्रम जारी हुँदै हुँदै उसलाई ‘बेड रुम’सम्म लिएर गएर उसलाई एक प्रकारको ‘रेप’ गरिएको छ ।

जसमा उसलाई ‘इन्ट्रेष्ट’ नै छैन । किनभने ‘फिजिकल रिलेसनसिप’को लागि पनि दुवै जनाको समान रुची, हुनुपर्छ । केटी मान्छेको रुची त्यहाँ कहीँ पनि देखिएको छैन । अब हेर्दा  देख्नुहुन्छ प्रष्ट । त्यहाँ मैले केटी मान्छेको ‘पेन’ देखाउन खोजेको हो । नत्र दुई जना केटाकेटीबीचको ‘इन्टिमेट सिन’ देखाएर सस्तो ‘पब्लिसिटी’ पाउनुपर्ने न मेरो स्थिति, न मेरा ‘आर्टिष्ट’हरु र न त मेरो फिल्मको नै छ ।  

अन्तिममा भन्नुपर्ने केही बाँकी छन् ? 

असोज १२ गते फिल्म रिलिज हुँदै छ । फिल्मभित्र अहिलेका नाम चलेका ‘मल्टि ट्यालेन्ट’ स्टारहरु छन् । काठमाडौंभित्र देखिने कथा कलाकारको माध्यमबाट देखाउन खोजेको छु । जुन कुरा चलेको छ, त्यही मात्र नभई अरु कुरा ‘फलो’ गर्न मान्छे डराउँछन् ।

यो विषयलाई बाहिर ल्याउनथालेपछि मलाई धेरै जनाले ‘बोल्ड’ रहेछ भन्न पनि थाले ।  मलाई यही विषयमा काम गर्न मन लाग्यो, मैले किन अरुले दिएको विषयमा काम गर्ने ? एक्सन फिल्ममा मलाई रुची छैन रे,  एक्सन फिल्म चलेको छ भनेर मैले त्यस्तै बनाउनुपर्छ भन्ने छैन ।  

चलेको गर्नुपर्छ भनेर सोच्नु गलत हो । मलाई यो विषय बाहिर आउनुपर्छ भन्ने लाग्यो, त्यसैले कथा काठमाडौं बनाएँ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै