• २०८१ बैशाख ८ शनिबार

एशिया कप सुपर फोरमा भारत र पाकिस्तान विजयी

kharibot

काठमाडौँ। एशिया कप क्रिकेट अन्तर्गत सुपर फोरका खेलमा भारत र पाकिस्तान विजयी भएका छन्। गएराती  भारतले बंगलादेशलाई ७ विकेटले र पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेका छन्। 

बंगलादेशले दिएको १७४ रनको लक्ष्य पछाएको भारतले कप्तान रोहित शर्माको नटआउट ८३, शिखर धवनको ४० तथा महेन्द्रसिंह धोनीको ३३ रनको मद्धतले ३ विकेट गुमाउदै ३६.३ ओभरमा सो लक्ष्य पुरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेश रविन्द्र जडेजाको घातक बलिङका अगाडी धाराशायी भएको थियो। भारतको एकदिवसीय टिममा कमब्याक गरेका जडेजाले १० ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भुवनेश्वर कुमार र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए। बंगलादेशका लागि मेंडी हसन मिराजले सर्वाधिक ४२ रन बनाए भने मुस्राफे मुर्ताजाले २६ तथा महामुदुल्लाहले २५ रन बनाएका थिए। बंगलादेश ४९.१ ओभरमा अल आउट हुदै १७३ रन मात्र बनाएको थियो। यस खेलको म्यान अफ द म्याच रविन्द्र जडेजा बनेका थिए। 

त्यस्तै गएराती नै भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ।  अफगानिस्तानले दिएको २५८ रनको लक्ष्य पछायाएको पाकिस्तानले ४९.३ ओभरमा ७ विकेट गुमाएर सो लक्ष्य पुरा गरेको थियो।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए भने बबर आजमले ६६ तथा सोएब मल्लिकले ५१ रन बनाएका थिए। अफगानिस्तानका लागि राशिद खानले ३ विकेट लिए भने मुजीब उर रहमानले २ तथा गुल्दाबिन नैवले एक विकेट लिए।  यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउदै २५७ रन बनाएको थियो। जसमा हसमतुल्लाहा शाहिदीले नटआउट ९७ रनको पारी खेलेका थिए भने असगर अफगानले ६७ तथा रहमत खानले ३६ रन बनाएका थिए। पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहीन शाह अफ्रिदीले २ विकेट लिएका थिए।  खेलको म्यान अफ द म्याच शोएब मल्लिक बनेका थिए।

शुक्रबारका खेलमा भारत र पाकिस्तानले आ आफ्ना खेल जितेर सुपर फोरमा २-२ अंक बटुलेका छन्। सुपर फोरमा रहेका चार टिमले एक आपसमा खेलेपछि शिर्ष दुइ टिम फाइनलमा पुग्ने छन्।  

एशिया कपको सुपर फोर अन्तर्गतको अर्को खेल अब आइतबार भारत र पाकिस्तानबीच हुने छ भने दोस्रो खेल आइतबार नै अफगानिस्तान र बंगलादेशबीच हुने छ ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै