ए मान्छेरूपी मान्छेहरू हो !
कति पिँध्छौ मान्छेहरूलाई
सहरमा छोइला र कचेला अनि मःमःबनाएर
अनि शनै शनै गाउँमा च्याँख्ला बनाएर
जिब्रो ट्वाक्क ट्वाक्क पड्काएर
अर्काको जिन्दगीलाई चास्नी बनाई बनाई
शक्तिका मातमा कलिला चिचिलाहरू निमोठेर
भागलगाई लगाई खान्छौ ?
घाँटी निमोठेर, साँप्राच्यातेर जिन्दगीका पानाहरूलाई
धुजाधुजा पारेर एसिड छर्कँदै
डोरीको गुजुल्टामा फन्को मार्दिएर
कतै पगालेर बगाएर, रगतको ताजा फाल्सासँग
होली खेल्दै निश्छल सपेटाहरू मर्मर चपाएर
मृत्युरेखा कोरिदिन्छौ हुँडार बनेर
अब लुछेर माकुरा बन्दै तिम्रा नजरमा
केवल भुटन बनाएर कुनै उमेर नभनी
उम्रेदेखि खुम्रेसम्मका मान्छेलाई
मान्छेको खोल ओढी जिन्दगी चुसिरहेर
देश टनक टनक टन्काइरहेछौ
क्रान्तिकायामहरूमा या शान्तिका घामहरूमा
विलासिताका मरुभूमिमा टङ्चिएर
बल्लबल्ल फुलेका फूलहरूको मालाउन्नुको साटो
सिमसारका बकुल्ला झैँ ढुकेर
किन सिकार खेलिरहेछौ अस्मितामाथि?
आज खिल परेको छ, मानवताका गोडामा
आमालाई बिर्सेर, जिन्दगी कुल्चेर
तप्पतप्प चुहिने बैँस पाशविक चक्रव्यूहमा
जूनको अस्तित्व मासेर हिमाल डल्लो पार्दै छौ,
ममताहीन घट्टमा क्रुरताको छिः मानव !
आँखा चिम्लेर मान्छे चपाइरहेछस्
देश उम्लिएर मानवताको खोजी गर्दै आज
आँखा उघार्दै छ तर मानवतारूपी मान्छेहरू
कानुनको च्याँखे थाप्दै, मकै पिँध्दा उम्किएका घुनहरू
होसियार ! भेष धरीधरी आफ्नै वा पराई बनेर
सहर र गाउँमा नारी अस्मितामाथि धावा बोलिरहेछन्
उम्किएका घुनहरू खान खोज्दै छन् वय वयका मकैहरू ।
होसियार मान्छेभित्रका मान्छेहरू !
अब त चिनौँ र तम्सौँ पिँध्नलाई उम्किएका घुनहरू ।