• २०८१ बैशाख १४ शुक्रबार

जनताको विश्वास र भरोसामा तलमाथि हुँदैन : प्रधानमन्त्री

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताए ।

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जनाए ।

उनले भने, “यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

उनले कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट गर । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताए । उनले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाए ।

नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गरेको बताए ।

नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए ।

विसं २०४६ को जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गरेकी थिइन् । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै