• २०८१ बैशाख १२ बुधबार

अरिंगाल नबनेकाहरु माहुरी कसरी बन्लान् ? 

kharibot

काठमाडौँ। देश अहिले राजनीतिक अस्थिरिताबाट स्थिरता तर्फ गएपछि सबै कुरा ठिक हुन्छ भन्ने सबैको सोच र आशा विपरित नेताहरुको अभिव्यक्ति र नेतृत्वकर्ताको भाषणले देशमा अझै सबै ठिक छैन कि भन्ने संकेत गरेको छ । प्रसंग प्रधानमन्त्री केपी शर्माको यो गएको साता निकै चर्चित अभिव्यक्ति 'अरिंगाल' को हो। अघिल्लो शनिबार आफ्ना कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएका प्रधानमन्त्री ओलीले एक साता पछि शनिबारनै माहुरी जस्तै मिहिनेती बन्न निर्देशन दिए। 

प्रधानमन्त्रीको अरिंगाल अभिव्यक्तिको चर्चा जताततै  सामाजिक संजालमा त अझै पनि अरिंगालको चर्चा छ। मिडियाका हेड लाइनदेखि सामाजिक संजालसम्म अझै अरिंगाल चर्चाको विषय बनेको छ। धेरैले प्रधानमन्त्री पार्टीबाट बाहिर आउन नसकेको र अझै पनि आम जनताको प्रधानमन्त्री बन्न नसकेको सम्म आरोप लगाए। 

अहिले प्रधानमन्त्रीको कुनै पनि अभिव्यक्तिले मिडिया र सामाजिक संजाललाई तरंगित बनाउने गरेको छ।  त्यो चाहे प्रधानमन्त्रीको रेल र पानी जहाजको अभिव्यक्ति होस् चाहे निर्मला हत्या प्रकरणमा टेलिभिजनमा दिएको अभियक्ति होस् सबै चर्चाको विषय बन्ने गरेका छन्। यस्तै धेरै अभिव्यक्ति छन् जसले प्रधानमन्त्री पटक पटक विवादमा आउने गरेका छन् । आखिर देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री किन यसरी विवादमा आउने गरी बोल्छन् त ? किन प्रधानमन्त्रीको अभिव्यक्ति सधै विवादमा पर्ने गर्दछ ? 

अहिले हाम्रो समाज विवध कारणले अस्थिर हुदै गएकोमा कुनै शंका छैन। यसको असर देशको नेतृत्व गर्ने देखि आम जनतासम्म परेको देखिन्छ। सामान्य रुपमा हेर्ने हो भने सडकमा पैदल हिड्नेदेखि, मोटरसाइकलमा हिड्ने तथा कारमा हिड्ने, महलमा बस्नेदेखि सामान्य झोपडीमा बस्ने हामि सबै आफ्नो अधिकारको कुरा त ठुलो स्वरमा गर्दछौ तर आफ्नो कर्तव्य भने बिर्सिरहेका छौ । सत्तामा बस्ने प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ठुलो कुरा गरेर स-स-साना कुरालाई नजरअन्दाज गर्दा आज दुई तिहाई बहुमतको सरकार पनि आफ्नै दलले ढाल्छन् कि भन्ने आशंका बढ्न थालेको छ। आफुहरु एक पछि अर्को गर्दै विदेश भ्रमणमा छन् भने कर्मचारीले विदेश भ्रमण गरेर खर्च बढाएको आशय ठुलो स्वरमा भन्ने गर्दछन् । 

यति मात्र होइन हामी आम मानिसहरु पनि आफ्नो न्युनतम कर्तव्य विर्सेर सडकमै पार्कीङ गर्ने, फोहोर फाल्ने, जथाभावी बोल्ने गरेकै छौ, जुन हरेक दिन जताततै देख्न सकिन्छ । कुरा सुन्दा सामान्य लाग्छ तर हरेक दिन यस्ता सामान्य कुरा बिग्रिदै जादा अब मुलुक कता जादै छ भन्ने ठुलो डर अहिले समाजमा देखिन थालेको छ । लाखौ खर्च गरेर चुनाव लडेका र अहिले सत्तामा पुगेकाहरु चुनावमा गरेका बाचा बिर्सेर कमाउनमै व्यस्त देखिन्छन्।  जनता र देश प्रतिको जिम्मेवारी कहिँ कतै फिटिक्कै देखिन्न।  कुरा एउटा गर्ने तर काम अर्कै गर्ने प्रवृति तलदेखि सिरानसम्म उस्तै छ । भने सामान्य चिया पसलदेखि ठुला जमघटमा कुरा हामि सबैले ठुलै गर्छौ तर सडकमा हिड्दा होस् या बोल्दा होस् समान्य शिष्टता र अनुशासन बिर्सन्छौ।   

सिंहदरबार बसेकाहरु फेरी बाहिर आउनै पर्दैन जस्तो गरी बसेका छन् भने बाहिर रहेकाहरु पनि आफ्नो कर्तव्यबाट चुकेका छन्। बिहानीले दिनको संकेत गर्छ भने जस्तो सरकारले पहिलो ६ महिनामा खराब सुरुवात गरेर जनतामा ठुलो आशंका पैदा गरेको छ।  प्रधानमन्त्रीले आफ्नै दलका कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिनुपर्ने अवस्था आउनु र कार्यकर्ता अरिंगाल बन्न तयार नहुनु सरकारको काम कारवाहीप्रति नै प्रष्ट संकेत हो भन्दा अन्यथा हुदैन।  अहिले सत्तारुढ दलका कार्यकर्ता न त अरिंगाल बन्न तयार देखिए न त माहुरी नै बन्ने छाटकाट देखिदै छ।  किनकी उनीहरुलाई पनि थाहा छ पानी जहाज र रेल भन्दा अहिले देशलाई अन्य सामान्य समस्याको समधान चाहिएको छ। यसको अर्थ पानी जहाज र रेल चाहिएको छैन भन्ने होइन।  हामीलाई हाम्रो दैनिकीका सामान्य समस्याको समाधान गर्दै पानी जहाज र रेल चाहिएको छ। तर सरकार र खास गरी प्रधानमन्त्री ओली पानी र रेल आएपछि सबै ठिक हुने जस्तो गरी बोल्दैछन्।   

यस अर्थमा सत्तारुढ दलका कार्यकर्ता अरिंगाल बन्न तयार भएनन् जुन तारिफ योग्य छ। तर समस्या प्रधानमन्त्रीको अभिव्यक्तिमा छ। आफुले काम नगर्ने अनि हरेको कुरामा राजनीति घुसाएर शासन गर्न खोज्ने प्रवृति धेरै पुरानो राजनीतिक प्रवृति हो र यो प्रधानमन्त्री ओलीमा पनि देखियो जुन आशा गरिएको थिएन।   

अहिले प्रधानमन्त्री ओली अघिलो सरकारले यस्तो गर्यो भनेर उम्किने ठाउ छदै छैन । अघिल्लो सरकारले डेलिभरी नगरे कै कारण ओलीलाई जनताले जिताएका हुन् भन्ने कुरा बिर्सेको देखिदै छ । प्रधानमन्त्रीले आफु सम्पूर्ण जनताको प्रधानमन्त्री हु भन्ने नबुझे सम्मकार्यकर्तालाई अरिंगाल बन्ने अफर आइनै रहने छ। आम कार्यकर्ता अरिंगाल बन्न अस्विकार गरेको भेउ पाएका प्रधानमन्त्री माहुरीको अफर लिएर आए। तर माहुरी बन्न पनि त वरपर फुल फुल्नु त पर्यो ? वरपर रेगिस्तान छ कार्यकर्ता कसरी माहुरी बनेर मह तयार गर्लान ? प्रश्न सत्ताकै वरिपरि पेचिलो बन्दै छ ।

महंगी बढेको छ, सरकारले सुरु गरेका कुनै पनि काम निष्कर्षमा पुग्न सकेका छैनन्।  चाहे ति ३३ किलो सुन काण्ड होस्, यातायातको सिन्डिकेट होस्, निर्मला हत्या काण्ड होस्, कालिमाटी तरकारी बजारको समस्या होस्, सबै तिर सरकारले अस्तव्यस्त बनाएर पछि हट्ने काम गरेको देखिन्छ। सरकारमा गएकाहरुको प्रवृति २०४७ साल तिर जस्तो थियो अहिले २०७५ सालमा पनि उस्तै छ केहि पात्र बदलिएको मात्र हो।  

त्यसैले यस्तो अवस्थामा प्रधानमन्त्रीको निर्देशनमा अरिंगाल नबनेका कार्यकर्ता माहुरी कसरी बन्लान्  ? 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै