• २०८१ बैशाख ८ शनिबार

हृदयघातबाट बच्न बानी सुधारौं 

kharibot

बदलिँदो जीवनशैली, आहारविहारमा वास्ता नगर्नु, आवश्यकताभन्दा धेरै तनाव लिनु र एक्सरसाइजको कमीका कारण मानिसहरूमा मुटुसम्बन्धी रोग तीव्र गतिमा बढिरहेको छ । मुटु मांसपेशीले बनेको एक महत्त्वपूर्ण अङ्ग हो । यसले शरीरका सबै अङ्गमा रक्तसञ्चार गर्छ ।

मुटुमा रक्तसञ्चार गर्ने धमनीहरूमा बाधा पुगेको खण्डमा मुटुको जुन भागमा रक्तप्रवाह हुँदैन, त्यो भागको मांसपेशी मर्न लाग्छ । यसले रगत पम्प गर्न मुटुलाई समस्या हुन्छ । रगत नमिल्नाले मांसपेशी मर्नु अथवा मुटुको कुनै खास भाग निष्क्रिय हुनु नै हृदयघात हो ।

यसले मानिसको ज्यानै लिन सक्ने भएकाले यसबाट बच्न सतर्कता अपनाउनु अतिआवश्यक छ । यसबाट बच्न आफ्नो बानी परिवर्तन गरी केही राम्रो आचणको अनुसरण गर्नु आवश्यक छ । 

कोलस्ट्रोललाई नियन्त्रणमा राखौं 
कोलस्ट्रोललाई आफ्नो मुटुको नजीक पुग्न नदिऔं । कोलस्ट्रोल बढेको खण्डमा यसले मुटुसम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ । त्यसैले उच्च रक्तचापका साथै कोलस्ट्रोल नियन्त्रित राख्न औषधि र खानपिनमा विशेष ध्यान दिऔं । 

धूम्रपानबाट टाढा रहौं 
धूम्रपानले क्यान्सरजस्तो खतरनाक रोग निम्त्याउन सक्ने भएकाले यसबाट टाढा रहनु स्वास्थ्यको लागि धेरै राम्रो हो । जसलाई मुटुको रोगले छोएको छ, उसले त झन् धूम्रपानबाट अवश्य बच्नुपर्छ । रोमका स्यान फिलिप्पो नेरी हस्पिटलका डा. फ्युरियो कोलिबिच्चीले आफ्नो शोधमा मुटुको रोग अथवा हृदयघातको समस्या भएपछि धूम्रपान गर्ने अधिकांश व्यक्तिको एक वर्षभित्र मृत्यु हुने सम्भावना रहेको पाएका थिए । 

तौल नियन्त्रित राखौं 
मोटोपनले पनि हृदयघातको समस्या हुन सक्छ । त्यसैले आफ्नो उमेर र लम्बाइको हिसाबले उचित तौल पत्ता लगाई त्यसलाई कायम राखौं । साधारणतया बीएमआई २५ भन्दा बढी र कम्मरको नाप ३४ इञ्चभन्दा बढी हुनु राम्रो मानिँदैन । 

सुगरको नियन्त्रण 
सुगरका रोगीको धमनीमा रगत जम्ने सम्भावना बढी हुन्छ । यदि मुटुरोगीलाई सुगर छ भने सुगरलाई नियन्त्रित राख्न औषधि लिनु आवश्यक छ । 
ड्राइ फ्रुट्सको सेवन गरौं 
बदाम, ओखर, पेस्ता, काजु आदि ड्राइ फ्रुट्सले बोसोमा सकारात्मक प्रभाव पार्छ । यसले हानिकारक कोलस्ट्रोल कम गर्न सहयोग गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम हुन्छ । यी तत्त्वले मुटुको सुरक्षाको काम गर्छन् । हृदयघातबाट बच्न तारेको, भुटेको अथवा नुन बढी भएको खानाबाट टाढा रहनु जरुरी छ । 

जैतुन (ओलिभ)को तेल
तेलका कारण मुटुमा ब्लकेज बढ्ने सम्भावना धेरै हुने भएकाले खानामा तेलकको कमभन्दा कम प्रयोग गरौं । अन्य तेलभन्दा जैतुनको तेल प्रयोग गर्नु मुटुको लागि फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा मोनोस्याचुरेटेड र अनस्याचुरेटेड फ्याट हुनाले यसले कोलस्ट्रोल र सुगर नियन्त्रण गर्न सहयोग गर्छ । 

नियमित व्यायाम गरौं 
नियमित रूपमा आधा घण्टा हिँड्नु, योग, व्यायाम गर्नु, पौडी, साइक्लिङ आदिले मुटुलाई स्वस्थ राख्छ । त्यस्तै, भोजनमा फाइबरयुक्त खाना अनिवार्य समावेश गरौं । 
यस्ता बानी अपनाएमा मुटुसम्बन्धी समस्या हुने सम्भावना कम हुन्छ । त्यसैले मुटुसम्बन्धी रोग भएका अथवा नभएका सबैले माथि उल्लेख गरिएका व्यवहारलाई आफ्नो दिनचर्यामा समावेश गर्नु स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हो । 
(ओन्लीमाईहेल्थबाट भावानुवाद)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै