• २०८१ बैशाख १३ बिहीबार

पर्यटनसम्बन्धी कानुन ६ महिनामा आउँछ : पर्यटनमन्त्री अधिकारी 

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी कानुन आगामी छ महिनाभित्रै आउने जानकारी दिएका छन् । आइतबार पर्यटन बोर्डमा आयोजित हर्क गुरुङको स्मृतिसभामा बोल्दै मन्त्री अधिकारीले उक्त जानकारी गराएका हुन् । 

कार्यक्रममा बोल्दै उनले अहिलेसम्म डा. हर्क गुरुङले बनाएको बाटो हिँडेको बताए । परिवर्तित समयसँगै धेरै कुरा परिवर्तन भएको बताउदै अधिकारीले नयाँ पर्यटन ऐन फराकिलो बनाउन लागेको बताएका हुन । अधिकारीले भुगोल, इतिहास र संस्कृति पढेर देशको समग्रतालाई बुझेर पुर्वाधारको विकास गर्दै निजी क्षेत्रमैत्री भएर मन्त्रालयले कानुन ल्याउने बताए । 

‘माउण्टेरिङ क्षेत्रको महत्व छ, यसको अध्ययन हुन आवश्यक छ’, अधिकारीले भने,   ‘विकास र समृद्धिका आधार पर्यटन क्षेत्र हो ।’ मन्त्री अधिकारीले हर्क गुरुङलाई राष्ट्रिय विभूति बनाउन प्रयास गर्ने बताए ।    

नयाँ हिसाबले अध्ययन अनुसन्धान गरी तथ्यसत्य बाहिर निकाली अध्ययन र निकर्षको आधारमा अनुहार र वाद नहेरी आम जनताको पक्षमा काम गर्ने व्यक्तित्वको रुपमा  डा. हर्क गुरुङलाई अधिकारीले सम्झिए । अधिकारीले देशको उत्पत्ति, विकास, इतिहास र भूगोललाई बुझ्न सक्ने व्यक्तित्वका रुपमा डा. गुरुङको सम्झना गरे ।   

उक्त कार्यक्रमा समाजशास्त्री डा. कृष्ण भट्टचनले संविधान संविधानप्रति नै असहमति जनाउँदै फौजदारी संहिता ऐन कानुन, नीतियोजना कार्यक्रमले सबैले आफूहरुलाई सर्पको रुपमा डसेको बताएका थिए । 

टानका अध्यक्ष नवराज दाहालले डा. हर्क गुरुङको नाममा पार्क, पदयात्राजस्ता कुनै महत्वपूर्ण स्थानको नामकरण गर्नुपर्ने बताए । डा. गुरुङको राम्रो कामको अनुशरण गरेमात्रै उनीप्रतिको श्रद्धा हुने दाहालले बताए । 

पर्यटन हितको लागि आफैँले सोचेर  निर्णय गर्न भन्दै गुणस्तरीय पर्यटन भित्र्याउनको लागि गैरकानुनी पर्यटन व्यवसायीलाई हटाएर गुटको होइन सिङ्गो नेपालको पर्यटनको विकासलाई उचाइमा पुर्याउन काम गर्न मन्त्री अधिकारीलाई आग्रह गरे ।  

त्यस्तै प्रा.डा योगेन्द्र गुरुङले डा. हर्क गुरुङको योजनाको अवधारणा, सिद्धान्त अहिलेसम्म  पनि राजनीतिक योजनाकारहरुसँग रहेको बताए ।  

उक्त कार्यक्रमा नेपाल टेलिभिजनको पहिलो प्रस्तोता रिता गुरुङले डा. हर्क गुरुङको वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।  प्रा. बालकृष्ण माबुहाङ, जनताति अगुवा,  रेशम गुरुङ, गुरुङ राष्टिय परिषद्को अध्यक्ष, सन्त्वीर लामा, एनएमए अध्यक्ष, सदस्य खड्ग बहादुर गुरुङ , लगायतले मन्तब्य राखेका थिए ।  

आइतबार पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा नेपाल पर्यटन बोर्डमा नेपाल आदिबासी जनजाति महासंघ, टान एनएमए, विभिन्न ११ संस्थाहरुको आयोजनामा उक्त कार्यक्रम भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै