• २०८१ बैशाख ८ शनिबार

कांग्रेसलाई पार्टीभित्रैबाट चुनौती : नेता केसी  

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चुनौती रहेको बताएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘कांग्रेसलाई अरुबाट चुनौती छैन । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चुनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’

मुलुक संघीय संरचनामा गइसकेकोले अब विधान बनाउन मस्यौता समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए । उनले भने, ‘अब ७ वटै प्रदेशमा १२ वटा भेला हुँदै छ ।’ कांग्रेसको लागि अहिलेसम्मकै जटिलत् एवम् चूनौतिपूर्ण कालखण्ड भएकोले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि केसीले बताए । 

उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व पद्धतिमा लैजानुपर्छ । निर्वाचन पद्वतीबाट पदाधिकारी नियुक्त गर्नुपर्छ । अबपनि पार्टी हुकुमी शैलीबाट चल्न सक्दैन । गुट÷उपगुट, गिरोह÷उपगिरोहको अब काम छैन् । पार्टीभित्र १५ प्रतिशतमात्रै मनोनित गर्नुपर्छ । अरु सबैमा निर्वाचन पद्वतीबाट टुँगो लगाउनुपर्छ ।’

१२औं महाधिवेशन हुँदै गर्दा आफू पार्टीको सह–महामन्त्री र प्रवक्ता रहेको उल्लेख गर्दै नेता केसीले त्यतिवेलाको कुरा सुनाए, ‘सभापति गिरिजाबाबुले सबैभन्दा पहिले भाषण गरेर नै उद्धघाट्न गर्नुभयो । त्यो बेलामा पनि मैले यो पार्टीलाई सामुहिक नेतृत्वबाट नै लैजानुपर्छ भनेको थिएँ । तर, गिरिजाबाबुले विपीले बनाएको विधान हो, सभापति पद्धतीबाटै पार्टीलाई लैजानुपर्छ भन्नुयो । फेरि पनि मैले असहमति राखेको थिएँ ।’ 

नेकपामा पदाधिकारीमात्रै नभएर निर्वाचन समिति र अनुशासन समितिमा पनि निर्वाचनमार्फत पदाधिकारी चयन गरिने गरेको उल्लेख गर्दै नेता केसीले भने,‘हामीभन्दा धेरै पछाडि स्थापित भएको नेपाल कम्युनिष्ट पार्टी, जो सर्वहरा अधिनायकवाद स्थापनाका निम्ति गठन भयो । जुन पार्टी स्वयम् लोकतन्त्रका लागि होईन लोकतन्त्रको विकल्पको रुपमा स्थापित भएको थियो । त्यो पार्टीभित्र २०७१ सालको विधानले उनीहरु सम्पूर्ण पदाधिकारी निर्वाचन गर्छन् । अनुशासन आयोग निर्वाचन गर्छन् । निर्वाचन आयोग निर्वाचन गर्छन् ।

नेकपामा १० प्रतिशतमात्रै मनोनित हुन्छ । त्यो पनि केन्द्रीय कार्यसमितिले मनोनित गर्छ । हामी लोकतान्त्रिक पार्टीमा भने एउटा व्यक्तिले मनोनित गर्छ । शक्ति धेरै भयो भने मान्छे अन्धो हुन्छ । अत्यन्तै धेरै शक्ति भयो भने त महाअन्धो हुन्छ । त्यसैले अब पार्टीको अनुशासन समितिका सदस्यहरुपनि निर्वाचनमार्फत नै चयन गर्नुपर्छ । निर्वाचनदेखि किन डराउने ? जनप्रतिनिधिहरुको मत लिन किन डराउनु ?’

एउटा व्यक्तिलाई सिंगारेर बलियो बनाउने पद्धती लिनु सर्वथा गलत हुने उनको तर्क छ । लोकतन्त्रलाई अझै मजबुद र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वाचित प्रतिनिधिहरुबाट (महाधिवेशनबाट) नै पदाधिकारी, संसदीय समिति र अनुशासन समितिजस्ता समितिहरु निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको केसीले बताए । 

अधिकार नभएर काम गर्न सकिएन भनेर सभापतिले भनेको आफूले सुनेको बताउँदै उनले भने, ‘गर्न खोज्ने सभापतिलाई अधिकारले रोक्दैन । कम्युनिष्ट पार्टीमा अहिले पनि १० प्रतिशत मनोनित हुन्छ । त्यो पनि केन्द्रिय कार्य समितिबाट हुन्छ । तरपनि खोई काम गर्न त रोकिएको छैन । धेरै व्यक्ति, धेरै विचार हुन्छ । विचारको घर्षणबाट लोकतन्त्र चल्छ । त्यसकारण निर्वाचन पद्धतीमात्रै उपर्युक्त पद्धती हो । यसलेमात्रै पार्टीभित्र अहिले देखिएका चूनौतिहरुको समाधान गर्न सक्छ । अहिलेका अप्ठ्याराहरुलाई पार गर्न सक्छ । र, त्यसले मात्रै युवा प्रतिनिधि र युवा नेतृत्वको विकास हुन सक्छ ।’
नेता केसीले अहिले पार्टीभित्र युवा नेतृत्वको विकासको कुरा धेरै चलिरहेको सुनाउँदै भने,‘अहिले सम्पूर्ण युवाहरु जो निर्वाचित भएर नेतृत्वमा आउनुभएको छ,

मनोनितमा कति युवा व्यक्तित्वहरु पुगेका छन्् ? किनभने मनोनित होईन, जनप्रियता हाँसिल गरेका सक्षम युवाहरुलाई पनि पदाधिकारी बन्नका निम्ति, संसदीय समितिमा पुग्नको निम्तिपनि निर्वाचित प्रथा सबैभन्दा उपयुक्त प्रथा हो । त्यसकारण अहिलेको बेलामा हामीले त्यो बासी बानी, बासी विचार र परम्परागत दृष्टिकोणभन्दापनि सामाजिक न्याय, सामाजिक सुरक्षा, र देशको आवश्यकत्तालाई हेरेर सबै पक्षको बीचमा पाटर्नरसिप र सहयात्रा हुनुपर्छ ।’
उनले पार्टीभित्र एउटा व्यक्तिलाई बलियो बनाएर र त्यो व्यक्तिको वरपर घुमेर आफ्नो शक्ति जमाउने खालको मनोवृत्तिबाट अब पार्टी चल्न नसक्ने स्पष्ट पारे । ‘ज्यादै बढ्दा भक्ति भयो भने त्यो चोरसे लक्षणम् हुन्छ’–केसीले भने,‘अहिले त्यही ढंगका प्रवृत्तिहरु देखिएका छन्, त्यसलाई नियन्त्रण गर्नको निम्ति पनि व्यापक रुपमा जनप्रतिनिधिहरुको बीचमा चुनाव लड्नुपर्छ ।’

उनले कहीँ कतै क्षेत्रको प्रतिनिधित्व छुट्यो, जातीय सन्तुलन छुट्यो वा महिलाको प्रतिनिधित्व छुट्यो भने १५ प्रतिशतसम्ममात्रै मनोनित गर्न सकिने प्रावधान राख्नुपर्ने बताए । 

गिरिजाबाबु हुँदा र सुशिल कोइराला हुँदापनि पनि सभापति पद्धतीको कुरा गरेको उल्लेख गर्दै उनले भने,‘देउवाजीमात्रै होईन, एकचोटी सभापति हुनेहरुले सँधैभरि सभापति मै हुन्छु भन्ने अहंकार र स्वप्न देखेका छन्, त्यो स्वप्न महाधिवेशनले नै भोलि टुँगो लगाउँछ । म कसैको पक्ष र विपक्षमा भन्दिन । तर महाधिवेशनबाट कुनैपनि पदाधिकारीमा जित्यो भने त्यो कुरा मैले पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले स्विकार गर्नुपर्छ ।’

पार्टीमा एउटै विचार जसले जे राख्छ त्यसैलाईमात्रै मानेर हिँड्नु भनेको अधिनायकवादी शासन पद्धती हुने बताउँदै भने,‘अधिनायवादको दुर्गन्धित वातावरणबाट पार्टीलाई सम्पूर्ण रुपमा मुक्त गराउन निर्वाचन पद्धतीबाट पदाधिकारी, निर्वाचन समिति, अनुशासन समिति सबै निर्वाचित गर्नुपर्छ । अहिले विधानको कुरामा मेरो यही हो दृष्टिकोण ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै