• २०८१ बैशाख ७ शुक्रबार

‘प्रधानमन्त्री ओलीले भ्रमको खेती गरे, झूटको पुलिन्दा बाँडे’ 

kharibot

काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् ।

ओली सरकार गठन भएको आज ७ महिना ५ दिन भएको उल्लेख गर्दै उनले ठूला–ठूला भ्रमको खेती भएको र झुठका पुलिन्दा बाँडिएको गुनासो पोखे । उनले भने, ‘हुन त यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला होईन, तर पनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन् । खस्रो पात देखियो ।’
नेता केसीले भने, ‘अहिले ५ हप्ता हुन लाग्यो, यो बीचमा झण्डै ३७ जना महिलाहरु जहाँ ७ महिनाको बालिकादेखि ८३ वर्षको बृद्धाको समेत बलात्कार भएको छ । बलात्कार, हत्या, हिंसा र अपाराधिक गतिविधिहरु यसरी बढेको छ, तर सरकारले अपराधीहरु पत्ता लगाउन सकेको छैन । दुई तिहाईको सरकार छ । नेपालको ईतिहाँसमा विपी कोइरालापछि यति शक्तिशाली सरकार पहिलो चोटी निर्माण भएको छ । तर, यसको निम्ति सरकारले आफ्नो निम्ति आँफैले लज्जा मान्नुपर्ने स्थिति छ ।’

सत्तारुढ दलकै बरिष्ठ नेताहरुले आफ्नो पार्टीलाई बिगार्नको निम्ति षड्यन्त्र भैरहेको भनेर टिप्पणी गरेको प्रसँग उल्लेख गर्दै उनले भने,‘बलात्कार र हत्या गर्न कोही जान्छ, षडयन्त्र गर्न ? यस्ता अभिव्यक्तिलाई एउटा सत्तारुढ दलको अभिव्यक्तिलाई मान्ने कि नमान्ने ? कहिले अरिंगाल भन्नुहुन्छ, हिजोमात्रै मौरी बन्नुपर्छ भन्नुहुन्छ । त्यसकारण उहाँहरुको बोलीलाई नियन्त्रण गर्नुपर्ने सबैभन्दा पहिलो आवश्यकत्ता छ ।’

वर्तमान प्रधानमन्त्री ओली हिजो प्रतिपक्षमा हुँदा बोलेका कुरालाई जनताले राम्रै भन्ने गरेपनि अहिले ओली मुलुकको प्रधानमन्त्री भएकोले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ । उहाँ सबै पार्टीको प्रधानमन्त्री हो । अब छिसिक्क घोच्ने काम बन्द गर्नुपर्छ । बोलीमा नम्रता र धैर्यता हुनुपर्छ । संयम भएर बोल्नुपर्छ ।’

नेता केसीले काठमाडौं महानगरपालिकाले मेयर पाएको १८ महिना बितिसक्दा पनि अहिलेसम्म महानगरका विकासमा केही परिवर्तन नभएको पनि आरोप लगाए । उनले भने,‘हिजो निर्वाचनको बेला जनतासामू गरेका प्रतिबद्धताहरु खोई त पूरा गरेको ?’ 

आफू विद्यार्थी नेता हुँदाको प्रसंग कोट्याउँदै केसीले भने, ‘त्रिवीका उपकुलपति सर्युबहादुर शाक्य हुँदा म नेविसंघको संस्थापक तयारी समितिको सभापति थिएँ, त्यतिवेला भिसी शाक्यको अनुमति नलिईकन प्रहरी त्रिविमा पनि पस्न पाउँदैन थियो । त्यो त पञ्चायत कालमा । तर, अहिले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश जाँदा एयरपोर्टबाट बन्धी बनाएर घण्टौंसम्म प्रधानमन्त्री निवासलाई बन्धी गृहको रुपमा परिणत गरियो । योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ?’

त्यतिमात्रै नभएर वीर अस्पतालबाट डाक्टरलाई अपहरण गरेर गृह मन्त्रालय पुर्याएको बारेमा पनि केसीले आपत्ति जनाए । न्यायाधीशलाई केको आधारमा महाअभियोग लगाउन खोजिएको भन्दै केसीले सरकारलाई प्रश्न गरे । उनले भने,‘अभियोग त हुनुपर्यो नि । उहाँ न्यायाधीशको निम्ति अदालत फर्किदा के को महाअभियोग ?’

सरकारले भ्रष्चाटार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेको उल्लेख गर्दै उनले सरकारलाई चूनौति दिँदै भने, ‘मेरो सरकारलाई चुनौती छ, ३३ केजी सुन प्रकरण कहाँ पुग्यो ? के भइरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को–को छन् ? आग्रह वा पूर्वाग्रहविना जुनुसकै पार्टीको भए पनि जनताको बिचमा ल्याइदेओस् ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै