• २०८१ बैशाख ४ मंगलबार

दशौ कपिलवस्तु महोत्सव मङ्सिर १८ गतेदेखि पुस १ गतेसम्म हुने

kharibot

काठमाडौँ।  कपिलवस्तुमा दशौ कपिल्वस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । सोमबार काठमाडौँको नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा दशौ कपिलवस्तु महोत्सवबारे जानकारी दिइएको छ। 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद अख्तर कमल मुसलमानले लुम्बिनीलाई कपिलवस्तुसँग जोडेर समग्र बुद्ध सर्किट निर्माण गर्नसके प्रदेश ५ लाई नै समृद्ध बनाउन सक्ने बताए।  सांसद मुसलमानले कपिलवस्तु महोत्सवले जिल्लाको समग्र अवस्थामा व्यापक सुधार ल्याएको बताउदै जिल्लामा पर्यटनको सम्भावनालाई विकसित गरेर समग्र जनजीवननै विकसित गर्न सकिने धारणा व्यक्त गरे।  विकास निर्माणका कार्यक्रमको चर्चा गर्दै अहिले अफ्फु जिल्लाको विकासको प्रमुख पूर्वाधारहरुको निर्माणमा लागि रहेको जानकारी दिए। 

कार्यक्रममा बोल्दै पूर्वसभासद एवं सार्वजनिक लेख समितिका पुर्वअध्यक्ष डोर प्रसाद उपाध्यायले महोत्सवले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाएको भएपनि यस्ता प्रदर्शनीलाई नीति निर्माणको तहमा जोडेर दिर्घकालिन विकास गर्न सबैले पहल गर्नु पर्ने धारणा व्यक्त गरे।  

त्यस्तै कार्यक्रममा कपिलवस्तु महोत्सव बारे जानकारी दिदै कपिलवस्तु उद्योग वाणिज्यसंघका अध्यक्ष उमानाथ पौडेलले अहिलेसम्मका भन्दा फरक किसिमले महोत्सव गर्न लागिएको जानकारी दिए।  अध्यक्ष पौडेलले महोत्सवले स्थानीय उत्पादन, संस्कृति, पर्यटनको विकास तथा स्थानीय प्रतिभालाई बाहिर ल्याउन ठुलो सहयोग गरेको बताउदै यस पटकको महोत्सव पनि कपिलवस्तुको समग्र विकासका लागि महत्वपूर्ण हुने बताए। 

महोत्सवबाट भएको नाफाको पैसाले विगतमा विभिन्न सामाजिक काम गरेको बताउदै अध्यक्ष पौडेलले यस बर्ष सुबिधा सम्पन्न सभा हल बनाउने कार्य सुरु भइसकेको जानकारी दिए। 

कार्यक्रममा कपिलवस्तुबाट काठमाडौँ आएर विभिन्न पेशा व्यवसायमा संलग्नहरुको उपस्थिति थियो। उपस्थितहरुले महोत्सवलाई सफल बनाउन विभिन्न सुझावहरु दिएका थिए। 

आगामी मङ्सिर १८ गतेदेखि पुस १ गतेसम्म हुने यस महोत्सवमा ३५० व्यावसयिक स्टल र ५० भन्दा बढी प्रदर्शनी स्टल हुने आयोजकले जानकारी दिएका छन्। यस महोत्सवमा करिब १२ करोडको कारोबार हुने आयोजकको विश्वास रहेको छ। 

महोत्सवमा कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृतिक प्रदर्शनी, आठौ कपिलवस्तु डान्स आइडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको दिअनिक प्रस्तुति, विशेष बाल उद्यानसहितको मनोरंजन पार्कको व्यवस्था गर्न लागिएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञ भट्टराईले जानकारी दिए। 

महोत्सव व्यवस्थापनका लागु मूल आयोजक समिति, सचिवालय तथा २० वटा विषयगत उपसमिति गठन गरिने बताइएको छ। साथै महोत्सवलाई व्यवस्थित बनाउन महोत्सवका संरकक्षक, सल्लाहकार समिति र अनुगमन तथा मुल्याकन समिति पनि गठन गरिने अध्यक्ष उमनाथ पौडेलले जानकारी दिएका छन्।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै