• २०८१ बैशाख १३ बिहीबार

श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली टोली मलेशिया

kharibot

काठमाडौँ।  नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल आज मलेशिया प्रस्थान गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कविन्द्र नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डले यही असोज १२ गते मलेशियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग नेपाल–मलेशिया श्रम सम्झौतालाई अन्तिम रुप दिने सम्बन्धमा वार्ता गर्ने श्रम मन्त्रालयले जनाएको छ । 

टोलीले दुईदेशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जट्न बाँकी रहेका विषयमा सहमति जुटाउने बताइएको छ । नेपाल र मलेशियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि गम्भीर छलफलका लागि नेपालबाट टोली मलेशिया गएको हो । श्रम सम्झौताका विषयमा दुई देशबीच सहमति जुटेसँगै श्रम सम्झौताको मिति तय हुने बताइएको छ । 

मलेशिया जाने नेपाली कामदारसँग विभिन्न एजेन्सीका नाममा अवैध शुल्क लिएको भन्दै नेपाल सरकारले रोजगारीका लागि मलेशिया जान रोक लगाएको थियो । चार महिनादेखि मलेशियाका लागि श्रमिक आपूर्ति ठप्प भएको छ । सरकारले विभिन्न एजेन्सीका नाममा नेपाली कामदार ठगीमा पर्दै आएको भन्दै ती एजेन्सी खारेजी गरिदिएको थियो । 

नेपाल र मलेशियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहेपनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको छैन । दुई मुलुकबीच पटकपटक श्रम सम्झौताको प्रयास भए पनि अहिलेसम्म त्यसले मूर्त रुप पाउन सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै