• २०८१ बैशाख ७ शुक्रबार

आमा, म र मेरो सपना (कविता)

kharibot

एक्काइसौँ शताब्दिको गर्भबाट
जन्मिएको म एउटा बालक,
सदियौँदेखी प्रकृतिको अनुपम सुन्दरता
र दुबोको गुन्टाझैँ मुलायम 
आमाको काखमा लुट्पुट्टिरहेछु !

र मलाई मायालु बतासझैँ 
कोमल हातहरुले सुम्सुम्याइरहेकी 
मेरि आमा भन्दै थिईन् ;-
बाबू,, उहिले- उहिले पृथ्वीमा बादशाहहरु थिए
उनकै मनोमानी शासन चल्थ्यो !
यहाँ पनि नभएका हैनन् - बाइसे र चौबिसेहरु !
तिनिहरुमध्ये कोहि टाउको, कोहि खुट्टा
कोही छाती ,कोही स्तन....,......
अङ्ग अङ्गमा राज्य चलाउँथे ।
यो देखेर बाँसुरिले बजाउँदैनथे - एकताका धुनहरु !
त्यहिबेला उस्ले ममाथी गिद्धेनजर नफिँजाएको कहाँ हो र ?
तर संयोगवश,
आकाशमा एकीकरणको उज्यालो मुहार
बोकेर झुल्कियो एउटा नयाँ दिवाकर ....!

र मेरा काटिएका टाउको, खुट्टा, छाती ,स्तन....
अङ्ग अङ्ग जोडेर उस्ले जब दियो मलाई सग्लो रुप,
ओहो ! एस्तो मुस्कुराएथ्यो नि सगरमाथा !!
तर बाबू आज फेरि सगरमाथा आँसुमा डुबिरहेछ,
बारुद बोक्न विवश छन् भोका गुराँसहरु !

आमा निरन्तर कथा भन्दै थिइन्......

मैले हेरेँ आमाको चेहरा, आँसुले विक्षिप्त मुहार,
कलेटी परेका ओठ, उत्पिडन छल्किरहेका आँखा.....!
आमा भन्दै थिइन्;- 
मेरै सन्तानहरुले किन धुत्छन् मेरो कपाल ?
काटे गोडाहरु, भाँचे हातहरु 
फुत्काइदिए अँगालोभरिका सन्तानहरु,
यो निस्पट्ट अन्धकारभित्र 
कैदी बनाएर स्वयम्भुका आँखाहरु
कस्ले गर्न खोज्दैछ मलाई नै अपहरण ?

अब त ढिला भैसक्यो 
उठ, ए सपनाको बगरमा लम्पसार लासहरु हो !
जाग, ए हिमालको काखमा आनन्दित मुर्दाहरु हो !
र आँखा खोलेर हेर 
मेरै जाँघबाट अनुप्राणित यो पाखण्डी समाज
कसरी लुछिरहेछ मेरै तिघ्राका चोक्टाहरु ..?
बाबू ,
उस्ले किन तिमीलाई बन्दुक ताक्छ ?
तिमी किन उस्लाई तरबार उठाउँछौ ?
सपनामा मलाई 
किन घरी उस्ले घरी तिमीले तान्छौ ?

यो सब छोड्दिनुस् आमा !

अबको युगमा
माथी उक्लिएकाहरु जो छ्न् , तल ओर्लनेछन्
तल झरेकाहरु जो छन्, माथी उक्लनेछन्
र मानवताले बाँधिनेछन् हातहरु,
हार्दिकताले भरिनेछन् मनहरु,
बौद्धिकताले सजिनेछन् मस्तिष्कहरु !
साँच्चै आमा !
फेरिनेछ युग बदलिनेछ जमाना
युगले मागेपछी नआउनेहरु जो थिए ती आउनेछन्
युगले छोडेपछी बेकाममा आउने जो थिए ती भाग्नेछन्
हो आमा एकदिन 
घडिको सुईजस्तो घुम्दैघुम्दै त्यो युग आउनेछ
जहाँ हरेक मान्छे उभिने एउटै मैदान हुनेछ !
जब हामी हातमाहात मिलाएर त्यो मैदानमा उभ्नेछौं
तब दुरदृष्टिमा झुल्किनेछ चाँदनीझैँ साम्यवादी हिमाल !
हामी समानताको धुन बजाउँदै 
चढिरहेका हुनेछौँ समाजवादी भर्‍याङ्का खुड्किलाहरु !

मैले एति भनेपछी 
आमाका आँसु ओभाउनै लागेका थिए,
म झल्याँस्स ब्युँझिएँ निन्द्राबाट !!....!!

© बि.एन ढकाल
अरुण गा.पा.-५,भोजपुर ।
हाल : काठमाण्डौ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै