• २०८१ बैशाख ७ शुक्रबार

मालदिभ्समा प्रजातन्त्र पुन:स्थापना !

kharibot

काठमाडौँ । मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी भएका छन् । उनको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् ।

केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा थिए । त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व राष्ट्रपतिहरुलाई नै जेल हाल्ने तथा निर्वासनमा पठाउने गरेकाले प्रजातन्त्र प्राप्तिको आन्दोलन जारी रहेको बताइएको थियो ।

मालदिभ्समा इब्राहिमको जितलाई भारतले आफ्नो समर्थकको विजयको रुपमा लिएको बताएको छ । राष्ट्रपतिको सपथग्रहणमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरिएको छ । उनले सहभागिताको बारेमा कुनै औपचारिक जानकारी नगराएपनि उहाँ उपस्थित हुने अपेक्षा गरिएको अधिकारीहरु बताउँछन् ।

प्रजातन्त्र आफ्नै हातमा लिई शक्तिको केन्द्रका रुपमा शासन सञ्चालन गरिरहेको भनिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रुपमा पराजित भएका छन् । अनौपचारिक रुपमा सार्वजनिक भएको चुनावी मतपरिणामअनुसार इब्राहिम अग्रस्थानले विजय हासिल गरेका छन् । यस निर्वाचन परिणामले सत्तामा पुगेपछि अब कहिले पनि निक्लिनुपर्दैन जस्तो ठान्ने विश्वका कैयौँ नेताहरुलाई नयाँ पाठ सिकाएको छ ।

आफ्ना प्रमुख प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति मोहम्मद नसिद नै निर्वासनमा रहेको अवस्थामा पनि यामिनको यसप्रकारको हार हुनुलाई आश्चर्यजनक परिणामको रुपमा लिइएको छ । यहाँ केही वर्षयताका निर्वाचनहरुमा निकै विवादहरु बाहिर आउने गरेका थिए । विश्व समुदायले पनि आमनिर्वाचनको परिणाम घोषणा भएलगत्तै त्यसलाई मान्यता दिने कि नदिने भन्ने विवाद गर्ने गर्दथे । तर यसपटक भने जनताले चुनेको यो परिणामलाई विश्व समुदायले नै स्वीकार गरेको छ । उनीहरुले निर्वाचनको परिणामलाई निष्पक्ष रुपमा आएको भनेका छन् ।

निर्वाचनको नतिजा चाडै सार्वजनिक गर्ने बताएको मालदिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय उम्मेदवारका रुपमा इब्राहिम विजयी भएको जानकारी अवगत गराएको छ । औपचारिक नतिजा सार्वजनिक गर्न ढिलाई नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ मालदिभ्स (पिपिएम) ले विरोधको केही स्वरहरु उठाएको भएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला नहुने आयोगका अधिकारीहरुको भनाई छ ।

मुलुकको निर्वाचन कानूनमा सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ । पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरिफले पनि पुष्टी गरेका छन् । ती टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने शरिफले स्पष्ट पारिसकेका छन् ।

क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्समा छ वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । हाल सत्तामा रहेका राष्ट्रपति अब्दुल्लाह यामिनले पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई जेलहाली शासन गरेपनि आखिरमा हारको सामना गर्नु परेको छ ।

आफू पुनः सत्तामै रहन चाहेका यामिनबाट जनताको चाहनालाई सम्मान गर्दै सत्ताको शान्तिपूर्ण र सहज हस्तान्तरणका लागि नवनियुक्त राष्ट्रपति सोलिहले अपेक्षा व्यक्त गरेका छन् । तर यामिनले पनि आफ्नो हार भने स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बारम्बार समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।

पूर्व राष्ट्रपतिसमेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई पुनः लोकतान्त्रिक मार्गमा ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रपति यामिनले हार स्वीकार्नुबाहेक यामिनसँग अर्को विकल्प नरहेको प्रष्ट पारेका छन् । मोहमद नसीद हाल निर्वासनमा छन् । सन् २०१२ मा त्यहाँका पूर्व राष्ट्रपति नसिदलाई १३ वर्षको जेल सजाय सुनाइएपछि नै मालदिभ्समा विवाद सुरु भएको थियो । मालदिभ्सको एक फौजदारी अदालतले आतङ्कवादीको आरोप लगाउँदै प्रजातान्त्रिक दलका नेता र पूर्वराष्ट्रपति मोहमद नसिदलाई १३ वर्ष कारावासको सजाय सुनाएको थियो ।

पूर्वराष्ट्रपति नसिद सन् २००८ मा भएको निर्वाचनमा मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २००८ को नोभेम्बरमा मालदिभिएन डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्वाचन जितेर नसीद पहिलो प्रजातान्त्रिक राष्ट्रपति बन्न सफल भएका थिए । सन् १९६५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई सार्वभौमिकता सम्पन्न मालदिभ्समा यसलाई नै पहिलो प्रजातान्त्रिक निर्वाचन मानिएको थियो । मानवअधिकारवादी र स्वच्छ पत्रकारको छवि बनाइसकेका राजनीतिकर्मी नसीद पूर्वराष्ट्रपति मौमुन अब्दुल गैयुमलाई परास्त गरी सत्तामा आएका थिए ।

हालै सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेता जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेता चुनावी मैदानमा नै थिएनन् । यसैकारण पनि वर्तमान राष्ट्रपति अब्दुल्लाह यामीनको जित लगभग निश्चित मानिएको थियो । तर जनताले यस निश्चितालाई उल्टाइदिएका छन् । पछिल्लो समयमा सरकार र न्यायालयबीचको विवाद यहाँ चरम रुपमा देखिन्छ । गत वर्षमात्र पनि यही विवादले देशको शासनसत्ता नै उलटपुलट हुनेसम्मको रूप लिएको थियो ।

साधारणतया आन्दोलन एवम् विरोध प्रदर्शन कमै हुने गरेको शान्तजस्तो देखिने राजधानी मालेको सडकमा मुलुकको राष्ट्रिय प्रहरी बल नै आन्दोलनमा उत्रियो । प्रहरीले नै राष्ट्रपति नसिदविरुद्ध नै सन् २०१२ मा नारावाजी र बन्दुक प्रदर्शन गरे । त्यसपछि यहाँको राजनीतिक अस्थिरता शुरु भएको मानिएको छ । यसले ठूलो रक्तपात ल्याउने सङ्केत देखिएपछि राष्ट्रपति नसिदले सन् २०१२ को फेब्रुअरीमा राजीनामा दिएका थिए । त्यस बखत उनको राजीनामाले देशमा ठूलो रक्तपात रोकेको उनको दल, समर्थक एवम् विश्व समुदायले विश्लेषण गरेका थिए ।

करिब तीन सय वर्ग किलोमिटर मात्र क्षेत्रफल रहेको दक्षिण एसियाको सबैभन्दा सानो राष्ट्र मालदिभ्सको अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन हो । हिन्द महासागरमा रहेको यो देश पर्यटकीय आकर्षक गन्तव्य हो । मधुमास मनाउन जाने विश्वका सम्भ्रान्त जोडीका लागि यहाँका होटल र रिसोर्ट प्रख्यात छन् । मत्स्यपालन यहाँको पर्यटनपछिको दोस्रो ठूलो आयको माध्यम हो । करिब चार लाख ४६ हजार जनसङ्ख्या रहेको मालदीभ्स एकलाख नागरिक त राजधानी मालेमा मात्र बस्छन् ।

हालैको यो राष्ट्रपतीय निर्वाचनले यहाँको करिब सात वर्ष पुरानो राजनीतिक अस्थिरताको अन्त्य गरेको अनुमान गरिएको छ । गतवर्षमात्र पनि त्यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई जेल हालेर राष्ट्रपति यामिनले अर्को विवादको शुरुआत गरेका थिए । तर त्यो स्थायी र शान्तिपूर्ण बाटो थिएन । इब्राहिम मोहमद सोलिह राष्ट्रपति पदमा विजयी भएसँगै यहाँ राजनीतिक स्थिरता शुरु भएको र पुनः प्रजातन्त्रको आगमन भएको अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै