• २०८१ बैशाख १३ बिहीबार

विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी

kharibot

जनकपुरधाम / प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गरेका छन  । 

जानकी मन्दिरद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले सो आग्रह गर्दै उनले सीतारामविवाहपञ्चमी महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको धारणा राखे । मन्त्री साहले साताव्यापि महोत्सवलाई भब्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भई रहेको छ भने । उनले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । 

गोश्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । 

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएका शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् । 

मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतिकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सह–महन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ । 

छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राखेका  थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै