• २०८१ बैशाख ४ मंगलबार

फेसबुकले सिर्जनालाई 'अरिङ्गालवाली' बनायो  

kharibot

बेनी। अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन्  । 

लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । 

दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै आएकी छन् । उनलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन् । 

म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोेलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको रु एक हजार ५०० मा खरीद गर्दै आएका छन् । शुरुमा त रु दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने रु एक हजार ५०० सय मानामा पाउने गरेको उनी बताउछन् । 

सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट रू ५०० बेच्ने गरेकी छन् । अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उनकोे भनाइ छ । 

होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ? भनी सोध्दा उनी भन्छिन् । “यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।” सिर्जना भन्छिन्,  शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो?’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो । 

“अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पुरयाउने सकेकी छैन ।”उनी भन्छिन् । सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्द्छिन । “विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।” उनी भन्छिन्, “अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।” 

अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छन् । “एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए । आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खाजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।” 

गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउछन् । “अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ” अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उनको अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र रु ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ । 

उनी भन्छन “अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्ने सकिन्छ कि !” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै