• २०८१ बैशाख ७ शुक्रबार

चार हजार किलो सुन तस्करी भएको : गृहमन्त्री थापा

kharibot

चितवन । गृहमन्त्री रामबहादुर थापाले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको बताए । उनले भने, “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनुअघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।”

प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताए ।

साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उनले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए ।

घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन् ।

देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताए । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए । उनले भने, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छौं ।”

गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरे ।

सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए । उनले भने, “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजस्वमा गुणात्मक रुपमा वृद्धि भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताए । उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए ।

पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए ।

छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उनले बताए ।

यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै