• २०८१ बैशाख १२ बुधबार

अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर

kharibot

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाएको घर टहरा तथा जथाभावी राखिएका सामान हटाउने कार्य अघि बढाइएको छ । 

अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित गर्न नागरिकस्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ शहर अभियानको पहलमा सडकको अतिक्रमण हटाउने कार्यको थालनी गरिएको हो । सडक पेटीमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन ठप्प पारेपछि अभियान सञ्चालन गरिएको अभियानका संयोेजक दिलीपराज कार्कीले बताए । 

सडक अतिक्रमण गरेर जथाभावी सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध हुन थालेपछि अभियानको पहलमा महानगरपालिका, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायसमेतको सहकार्यमा सामग्री जफत गरी कारवाही गर्न थालिएको हो । 

बुधबार वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत बसपार्कदेखि ब्रह्मचोकसम्मको सडकमा भएको अतिक्रमण हटाइएको छ । संयुक्त टोलीले वीरगञ्जको बाइपास सडकमा बसपार्कदेखि उत्तरतर्फ अतिक्रमण हटाएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । पटकपटक सूचना गरेर त्यस्ता सामान हटाउन अनुरोध गर्दा पनि व्यवसायीले अटेर गर्दै आएपछि सो अभियान थालेको बताए । 

यसरी सडकबाट उठाइएका गाडी बसपार्कमा, अन्य सामग्री नेशनल ट्रेडिङमा राख्ने गरिएको र निर्माण सामग्रीहरु लगेर सडकका खाल्डाखुल्डी पुर्न महानगरपालिकाले प्रयोग गरेको छ । सामान धनीले आफैँ सामान नहटाएपछि जफत गरी जरीवाना असुल गर्न थालिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले जानकारी दिए । 

महानगरपालिकाले जफत गरेको सामग्रीबाट ४० हजारभन्दा बढी जरिवाना असुल गरिसकेको छ । त्यसैगरी छाडा पशु चौपाया नियन्त्रण अभियानबाट पनि ४० हजार जरिवाना उठिसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । यो अभियानका कारण यातायात तथा पैदल यात्रुलाई आवागमनमा सजिलो भएको नगरवासीको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै