• २०८१ बैशाख ६ बिहीबार

छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य हुने

kharibot

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ ।

सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप न्यूनीकरणका लागि केही हदसम्म यो विमानस्थलले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गौतमबुद्ध विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको उक्त आयोजना हेर्ने क्यानका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । धावनमार्गको काम ६ महीनामा सकिए पनि विमानस्थललाई पूर्णरुपमा सञ्चालनका लागि भने झण्डै एक वर्ष लाग्नेछ । धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानको कामलाई तीव्रता दिइनेछ । सो कार्यका लागि अहिले बोलपत्र आह्वान भइसकेको छ ।

“छ महीनाभित्र धावनमार्गमा विमान उडाउन सकिनेछ, अरु महत्वपूर्ण सञ्चार प्रणाली जडान र भवनको भित्री कामका लागि थप समय लाग्न सक्छ, त्यसैले सिभिल निर्माणसहित सबै प्राविधिक पक्षको काम सकेपछि सन् २०१९ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउछौँ”, निर्देशक अधिकारीले भने । विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महीनाभित्र सकिनेछ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण गरिनेछ, त्यसका लागि प्रक्रिया अघि बढाइएको क्यानले जनाएको छ ।

आयोजनाका लागि करीब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिने अधिकारीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध विमानस्थलको ६ महीनाभित्रै नयाँ धावनमार्गबाट उडान शुरु गर्ने तथा सन् २०१९ सम्ममा त्यहाँबाट अन्य उडान गरिने बताए । उक्त आयोजनासम्बन्धी हालैको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई जानकारी गराउदै मन्त्री अधिकारीले भने, “भैरहवा विमानस्थलको सबै कामलाई सँगसँगै अघि बढाएका छौँ, छ महीनामा अन्तराष्ट्रिय रनवेबाटनै विमान उडाउन सक्र्छौं आपत् पर्दा त्यहा विमान लैजान सक्छौँ ।”

भैरहवा विनमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ । विमानस्थल निर्माणका लागि रु २३ अर्ब मुआब्जा वितरणमा खर्चनुपर्नेछ । विमानस्थलको पूर्वाधारका लागि मात्रै लागि करीब रु आठ अर्ब लाग्ने जनाइएको छ । धावनमार्ग जम्मा तीन हजार मिटर लामो र ६० मिटर चौडाइको हुनेछ । बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेमा ६ करोड यात्रु क्षमता धान्नेछ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल निर्माणको काम प्रभावकारीरुपमा अघि बढेको जानकारी दिँदै अबको ६ महीनामा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछौँ भनेर अन्तर्राष्ट्रियरुपमा जानकारी गराइने उल्लेख गरे । “गौतमबुद्धको काम रफ्तारमा भौतिक तथा प्राविधिक सँगसँगै अघि बढेको छ । अन्तर्राष्ट्रिय विमान्स्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय जगतमा जानकारी गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्न चाहेमा पनि तीनदेखि ६ महीनाअघिनै उनीहरुलाई खबर गर्नुपर्ने भएकाले त्यसैअनुरुपको तयारी गरेका छौँ”, उनले भने ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन महत्वपूर्ण पूर्वाधारका रुपमा पनि काठमाडौँपछि भैरहवा विमानस्थललाई लिइएको छ । एक वर्षभित्र भैरहवा सञ्चलानमा आउने र हाल २२ घण्टा सञ्चालनमा रहेको त्रिभुवन विमानस्थललाई निकट भविष्यमै २४ घण्टा सञ्चालन अवधि पुर्याइनेछ । यसैबीच राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही असोज १५ गतेको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै