• २०८१ बैशाख ८ शनिबार

कक्रोच ब्रेड, जसमा छ सबैभन्दा धेरै प्रोटिन 

kharibot

काठमाडौँ । ब्रेड अथवा पाउरोटी बनाउन पीठोको प्रयोग गरिन्छ भन्ने त सबैलाई थाहा छ । तर, हाम्रो भान्छा अथवा भण्डारमा बसेर सधैं हामीलाई दुःख दिइरहने साङ्लाको पीठोबाट पनि पाउरोटी बन्छ भन्ने कमैले सोचेका होलान् । तर, यस्तो सम्भव भएको छ । 

ब्राजिली शोधकर्ताहरूको एक समूहले संसारमा खानाको कमीका साथै भविष्यमा एनिमल प्रोटिनले युक्त पौष्टिक खानाको खोजी गरिरहेका छन् । संयुक्त राष्ट्र सङ्घको आँकडाअनुसार सन् २०५० सम्ममा संसारको जनसंख्या करीब १० अर्ब पुग्नेछ । यस्तोमा मानिसलाई खानाको समस्या हुने र त्यस समयका लागि मानिसलाई चाहिने पौष्टिक आहारको जोहो अहिलेदेखि नै गर्नुपर्ने भएकाले उक्त टोली यस कार्यमा दत्तचित्त भएर लागेको छ । 

शोधकर्ताका अनुसार कीराहरू सजिलै पाइने र प्रोटिनले युक्त हुनुका साथै यसको मूल्य पनि कम पर्ने भएकाले अब खानामा कीरालाई खानामा कीरालाई पनि समावेश गर्ने बेला आइसकेको छ । 

दक्षिण पूर्वी एशियाको कतिपय भूभागमा कीरालाई भोजनमा समावेश गर्ने प्रचलन धेरै समय अघिदेखिको हो । 

साङ्लाबाट पाउरोटी बनाउने कुरा अचम्म लाग्दो छ । तर, यो पाउरोटी हाम्रो भान्छा र भण्डारमा पाइने साङ्लाबाट बनेको नभई उत्तर अफ्रिकामा पाइने एक विशेष साङ्ला लोकस्ट कक्रोचबाट बन्छ । यो साङ्ला सजिलै हुर्किन्छ र यसको प्रजनन पनि धेरै छिटो हुन्छ । 

संसारमा धेरै प्रकारका जनावर अथवा कीरा पाइन्छन्, यसलाई छान्नुको कारण के होला त ? 

यसको उत्तरमा शोधकर्ताले भनेका छन्, ‘यसमा रातो मासुमा भन्दा बढी प्रोटिन पाइन्छ । रातो मासुमा करीब ५० प्रतिशत भाग प्रोटिन हुन्छ भने यसमा ७० प्रतिशत प्रोटिन हुन्छ, त्यसैले प्रोटिन धेरै हुने भएकाले नै यसलाई छानिएको हो ।’ 

लाखौं वर्षभन्दा अघिदेखि नै साङ्ला अस्तित्वमा आएको हो र यो अहिलेसम्म वातावरणमा तालमेल मिलाएर बसिरहेको छ । यसरी लामो समयसम्म वातावरणमा तालमेल मिलाएर बस्न सक्ने गुण भएकाले यसको उपयोग गर्न सके मानिसलाई पछिसम्म पनि यसबाट धेरै फाइदा पुग्ने शोधकर्ताहरुमध्ये एक दक्षिण ब्राजिलको फेडेरल युनिभर्सिटी अफ रियो ग्राण्डका फुड इन्जिनियर एण्ड्रिसा जेन्टजेनको भनाइ छ ।  

फूड इन्जिनियर लरेन मेनेगनसँगै मिलेर जेन्टेनले साङ्लालाई सुकाएर त्यसको पीठो बनाइन् । त्यस पीठोको मूल्य करीब ५१ डलर प्रति किलो पर्यो । तर, पाउरोटी बनाउन यसको केवल १० प्रतिशत प्रयोग गरियो । यसमा साधारण गहुँको पीठो मिसाइयो । 

१०० ग्रामको साधारण पाउरोटीमा करीब ९.७ ग्राम प्रोटिन हुन्छ भने यसरी बनाइएको पाउरोटीमा २२.६ प्रतिशत प्रोटिन हुन्छ । 

अनुसन्धानकर्ताहरुले यसमा ६८ प्रतिशत फ्याट घटाउन पनि सफल भए । अनुसन्धानकर्ताको भनाइअनुसार यसको स्वाद साधारण गहुँको पिठोले बनेको पाउरोटीको जस्तै हुन्छ । यसमा हल्का काजुको जस्तो गन्ध भने आएको उनीहरूले बताए । 

पुतली, रेशम कीरा, बिच्छी, अरिङ्गाल, मौरी, कमिला आदिलाई त आहारको रूपमा प्रयोग गरिएको हामीलाई थाहा छ । साङ्लालाई पनि खानामा प्रयोग गरिएको यो पहिलोपटक हो । 

यसमा खर्च पनि कम लाग्ने देखिएको छ । एक किलो मासुको उत्पादनका लागि २५० वर्ग मिटर जमीन र २० हजार लिटर पानीको आवश्यकता पर्छ भने त्यति नै परिमाणमा साङ्लाको उत्पादन गर्न करीब ३० वर्ग मिटर जमीन र १ हजार लिटर पानीको आवश्यकता पर्छ । 

हाल कीराबाट बनेको खाना मन पराउनेको संख्या बढ्दै गएको छ । अहिले खाद्य सुरक्षा अधिकारीहरूले यसलाई बजारमा विक्रीको लागि अनुमति दिएका छैनन् । तथापि जनावरलाई भने यस्तो आहार खुवाउन सकिन्छ । 

स्पेन, बेलायत आदि देशले कीराबाट बनेको आहारलाई प्रोत्साहन गरिरहेका छन् । बिस्तारै साङ्लाबाट बनेको आहार पनि बजारमा आउने र यसले आहारको सन्दर्भमा एक नौलो क्रान्ति नै ल्याउने अनुसन्धाता जेन्टजेनले बताइन् । 

बीबीसीबाट भावानुवाद
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै