• २०८१ बैशाख ८ शनिबार

सरकारलाई राजपाको छठसम्मको अल्टिमेटम

kharibot

फाइल तस्बीर

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई छठसम्मको अल्टिमेटम दिएको छ।  सोमबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर आफुहरुसँग भएको तीन बुंदे सहमति कार्यान्वयन गर्न आगामी छठसम्मको समय दिएको हो।  राजपा ले छठसम्म ती सहमति कार्यन्वयन नभए सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने बताएको छ।  

प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म भएको वार्तामा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए। अध्यक्षमण्डलका नेता झाले वार्ताबारे भने, ‘प्रधानमन्त्रीले राजपाको माग दसैंसम्म पूरा गर्ने वचन दिएकोमा हामीहरूले दसैं होइन, छठसम्मको समय दियौं।’ प्रधानमन्त्रीसँग सकारात्मक वार्ता भए पनि ७ महिनादेखि यस्तै वार्ताले निरन्तरता पाएकोमा राजपा दुःखित भएको उनले बताए।

राजपाले प्रधानमन्त्रीसमक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि समय फिर्ता लिनसक्ने चेतावनी दिएको छ। राजपाले प्रधानमन्त्रीसँग भन्यो, ‘प्रधानमन्त्रीको निर्वाचनका बेला तपाईंले गर्नु भएको तीनबुँंदे सहमति कार्यान्वयन गर्न सक्नु भएन। त्यतिमात्र होइन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै तपार्इंले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षासमेत शून्यमा परिणत गर्नु भयो।’

राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ। तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा दिइएको छ। ज्ञापनपत्रमा ‘एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस्, त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार ओली सरकार नै हुनेछ।’

राजपाले स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ गरी प्रहरी हिरासतमा राममनोहर यादवको हत्या गरिएको, एसिड प्रहारबाट घाइते र उपचार खर्च अभावमा सम्झना दासजस्ता पीडितको मृत्यु भएको, निर्मला पन्तजस्ता देशका दर्जनौं चेलीहरूका बलात्कारी र हत्यारा पक्राउ गर्न नसकेको आरोप लगाएको छ।

यसैगरी कूटनीतिक क्षेत्रमा पूर्ण असफल भएको, सिन्डिकेट हटाउनुको साटो सिन्डिकेटवालाहरूको नियन्त्रणमा रहेको भन्दै राजपाले आपत्ति जनाएको छ। 

प्रदेश सरकारलाई सामथ्र्यवान एवं सञ्चालनमा संघीय सरकारले सहयोग नगरेको आरोप पनि राजपाले सरकारमाथि लगाएको छ। दुई तिहाइ बहुमतप्राप्त सरकारको राज्य सञ्चालनले नेपाली हतास, निराश, आतंकित र सशंकित भएकोमा सरकारप्रति राजपाले खेद व्यक्त गरेको छ।

प्रधानमन्त्रीको उल्टै गुनासो :

प्रधानमन्त्री केपी ओलीले  राजपाका नेताहरूसँगको बैठकमा आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा प्रधानमन्त्री ओलीले अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन् भन्दै उनले भने, 'देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै