• २०८१ बैशाख ११ मंगलबार

प्रदेश १ को राजधानीका लागि मुख्यमन्त्रीको प्रस्ताव सत्तापक्षका सांसदद्वारा नै अस्विकार

kharibot

विराटनगर । एक नम्बर प्रदेशसभा बैठक मंगलबारदेखि स्थगित हुने संकेत देखिएको छ । यही अधिवेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिवेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । 

स्थायी राजधानी र नामको बिषयमा सहमति जुटाउनको लागि बसेको नेकपा संसदीय दलको बैठक पनि सांसदहरुमा आमसहमति बन्न नसकेपछि आफ्नो धारणा राखेर स्थगित भएको छ । राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्रीको प्रस्तावमा नेकपाभित्रै सहमति नजुटेपछि प्रदेशको नाम र राजधानीबारे निर्णय नगरी १ नम्बर प्रदेशसभाको अधिवेशन अन्त्य हुने भएको हो ।

मुख्यमन्त्री शेरधन राईले विराटनगरमा मन्त्रालयहरु, इटहरीमा प्रदेशसभा र अन्य जिल्लामा सरकारका नियकाहरु विकेन्द्रीत गर्नेगरि राखेको प्रस्तावमा सत्तारुढ दल नेकपाका २ जना सांसद बाहेकका सांसदले असहमति जनाएका थिए। सत्तारुढ दलमा नै राजधानीको विषय विवाद भएपछि राजधानीको विषय झन् अन्यौलमा परेको हो । राजधानी र प्रदेशको नामबारे एक सातादेखि बहस र छलफल ब्यापक भए पनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन ।

मुख्यमन्त्री शेरधन राईले प्रमुख सत्तापक्ष र प्रतिपक्षी दलसँग बैठक गरी औपचारिक जानकारी गराएका छन् । नामकरण र राजधानीको प्रस्ताव आउँदो हिउँदे अधिवेशनमा लग्ने गरी चालू बर्खे अधिवेशन आज अन्त्य गर्ने सरकारले निर्णय गरेको हो ।

नामकरण र राजधानीलाई थाती राखेर हिउँदे अधिवेशनमा प्रस्ताव लैजाने गरी संसद अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले बैठकमा प्रस्ताव गरेका थिए । त्यसमा सबैले सहमति जनाएपछि मंगलबारदेखि सदन वर्खे अधिवेशन अन्त्य हुने भएको हो । मंगलबार ११ बजे बोलाइएको संसद बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशन अन्त्य गरिएको चिठी पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै