• २०८१ बैशाख १३ बिहीबार

ब्लेड र चक्कुले आफूलाई काट्ने समस्या बालबालिकामा बढ्दो, यसरी गरौं रोकथाम 

kharibot

काठमाडौं । आफूलाई नोक्सान पुर्याउने प्रवृत्ति आजभोलि बालबालिका र किशोरकिशोरीमा तीव्र गतिमा बढिरहेको छ । उनीहरूले आफूलाई दुःख दिन ब्लेड र चक्कुले काट्ने गर्छन् । 

मनोचिकित्सकहरूका अनुसार बालबालिकाले आत्महत्याको सोचले यस्तो गर्दैनन्, उनीहरु तनावलाई कम गर्न यस्तो गर्छन् । यदि बालबालिकाको यस्तो प्रवृत्तिमा ध्यान नदिने हो भने यसको परिणाम भयावह हुन सक्छ । यो आत्महत्याको कारण पनि हुन सक्छ । 

यसरी आफैलाई पीडा दिने समस्या ७–८ वर्षका बालबालिकादेखि १७–१८ वर्षसम्मका किशोरकिशोरीमा बढी पाइन्छ । भारतको बैङ्गलोरमा अवस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्युरोसाइन्सका डाक्टर के जोन विजय सागरका अनुसार यो समस्या नयाँ भने होइन, तर अहिले यो तीव्र गतिमा बढिरहेको छ ।

विजय सागरले भने, ‘अहिलेका किशोरकिशोरीहरु बढी तनावमा हुन्छन्, आफ्नो तनाव हटाउन उनीहरु यस्तो क्रियाकलाप गर्ने गर्छन् ।’ 

पढाइको तनाव, आमाबुबाले दिने दबाब, किशोरकिशोरीबीचको सम्बन्धमा आउने समस्या आदि विभिन्न किसिमका तनाव नै यस्तो प्रवृत्तिको प्रमुख कारण हो । त्यस्तै, बालबालिकाको देखासिकी गर्ने प्रवृत्तिले पनि यस्तो समस्या निम्त्याउन सक्छ । 

आफैलाई दुःख दिने कुरा आत्महत्याजस्तो लाग्छ, तर यो आत्महत्याको ठीक विपरीत हो । यो भित्री तनावसँग लड्ने एक तरिका हो । विशेषतः चोटको पीडाका कारण मनमा भएको तनावबाट छुट्कारा पाउन सकिन्छ भन्ने धारणाले बालबालिका यस्तो हर्कत गर्छन् । 

बालबालिकाले आफूतर्फ अरुको ध्यान खिच्न यस्तो गरेका हुन् भन्ने अभिभावकको धारणा हुन सक्छ, तर यो गलत हो । किशोरकिशोरीले हात, पाखुरा, खुट्टा, तिघ्रा आदि काट्ने गर्छन् र काटेको ठाउँ सकेसम्म कसैलाई देखाउन चाहँदैनन् । उनीहरु खत लुकाउन प्रायः बाहुले कपडा लगाउने गर्छन् ।

यदि बालबालिकाले आफूलाई चोट पुर्याउनेजस्तो कुरा गर्दै छन् भने उनीहरु किन यस्तो कुरा गर्दै छन्, उनीहरुमा के समस्या छ भन्ने बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरु किन यस्तो गर्न चाहन्छन्, उनीहरुको तनावको कारण के हुन सक्छ भन्ने बुझेर उनीहरुलाई सान्त्वना दिई तनावबाट मुक्त गर्ने प्रयास गर्नु अत्यन्त आवश्यक छ । 

त्यस्तै, उनीहरु अरुको देखासिकी गरेर पनि यस्तो काम गर्न सक्ने भएकाले उनीहरु कस्तो संगतमा छन्, त्यसको ख्याल राख्नु जरुरी छ । 

विशेषगरी अभिभावकसँग धेरै घुलमिल नहुने, भेटघाट नगर्ने, एक्लै बस्न रुचाउने बालबालिकामा आफूलाई पीडा दिने स्वभाव हुन सक्छ । 

त्यस्तै, सानो उमेरमै चलचित्र, टिभी सिरियल आदिको प्रभावमा परी किशोरकिशोरीले प्रेम प्रस्ताव राख्ने र आफूले चाहेको व्यक्तिलाई पाउन जे पनि गर्न सक्छु भन्ने देखाउन अथवा प्रस्ताव अस्वीकार भएमा पनि आफूलाई पीडा दिने प्रवृत्ति हाल ठूलो समस्याको रूपमा देखिएको छ । 

आमाबुबाको साथ, माया र निगरानी नै बालबालिकाको व्यक्तित्व विकासको आधार हो । यसैले उनीहरुलाई सही गलत छुट्याई सन्मार्गमा अघि बढ्न प्रेरित गर्छ ।

त्यसैले अभिभावकले बालबालिकाको अन्तर्मनलाई बुझेर उनीहरुको आन्तरिक समस्यालाई पहिचान गरी त्यसको समाधानतर्फ लागेमा यस्ता घटना हुन पाउँदैनन् र स्वस्थ समाजको निर्माण हुन सक्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै