• २०८१ बैशाख ८ शनिबार

बामदेवलाई उम्मेदवार बनाउन सांसद रामवीर मानन्धरले काठमाडौँ ७ बाट दिए राजीनामा

kharibot

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएको बताएका छन् । सांसद मानन्धरले बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले राजीनामा दिएका हुन्। 

राजधानीको संवाद चौतारीमा बोल्दै सांसद मानन्धरले राजीनामा सचिवालयमा प्रस्तुत गरेको र अझै स्वीकृत भने नभएको बताए।  उनले पार्टीका वरिष्ठ नेतालाई सिट छोड्नु जनताप्रतिको सम्मान भएको बताए ।  

यसअघि सांसद मानन्धरले पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए। सो राजिनामा पत्र प्रचण्डले सोमबार बसेको सचिवालय बैठकसम्म पुर्याए भने बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाएका थिए । 

सांसद मानन्धरले प्रचण्ड र गौतमसमक्ष राजिनामाका लागि आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने शर्त राखेको बताइएको छ। 

मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बर्दियाबाट नेपाली काँग्रेसका संजय गौतमसँग पराजित भएका गौतमलाई यसअघि डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । डोल्पाका सांसद धनबहादुर बुढाले आफू सिट छाड्न तयार रहेपनि स्थानीयले अस्विकार गरेका थिए। 

 बामदेवलाई प्रतिनिधि सभामा ल्याउने तयारी भएपछि सत्तारुढ दलको राजनीतिक समीकरण परिवर्तन हुनसक्ने विश्वास गरिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै