• २०८१ बैशाख ८ शनिबार

छक्का पञ्जा-३ रिलिज, मल्टीप्लेक्समा पायो धेरै शो 

kharibot

काठमाडौँ।  बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा-३ आजबाट देशभर प्रदर्शनमा आएको छ । 

नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले अभिनय गरेको र निर्माण गरेको चलचित्रले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ। 

टेलिभिजनबाट फिल्म निर्माणमा आएका दिपक्राज गिरि र दिपाश्री निरौलासहितको यो टिमले यस अघि ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । 

चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पाउदै यूट्युबमा १ करोड भ्यू पुगिसकेको छ। 

आजदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामा प्रस्तुत गरिएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।

मल्टीप्लेक्समा धेरै शो 

आजबाट रिलिज भएको फिल्मप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको थियो । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । 
 
दशैँको छेको र सोलो रिलिजको मौका पाएको फिल्मले राजधानीको क्युएफएक्सका हलहरुमा मात्र ३० शोज पाएको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । 

क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजेपछिको शोजको टिकट बढी बिक्री भइरहेको छ । उक्त फिल्मलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ । फिल्मको एडभान्स बुकिङ र इनिसियल बक्सअफिस आक्रामक भएको खण्डमा मल्टिप्लेक्सले अझै शो वृद्धि गर्नेछ ।
 
२ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । फिल्मलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ । फिल्मले मल्टिप्लेक्समा उच्च शोज पाउनुको पछाडि स्टार कलाकार, गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र गतिलो प्रचारलाई मानिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै