• २०८१ बैशाख ६ बिहीबार

आज विजयादशमी : मान्यजनको हातबाट टीकाग्रहण गरिँदै 

kharibot

काठमाडौं । आज बडादशैँको दशौँ दिन अर्थात् विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ । आज आश्विन शुक्ल दशमी यो पर्वकै विशेष महत्वको दिन पनि हो । आज घरका मान्यजन, आफूभन्दा ठूलाबडाको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ । 

गत असोज २४ गते घरघरमा घट (कलश)को स्थापना गरी पूजाकोठामा जमरा राखी सुरु भएको बडादशैँको विशेष दिन आज हो । आज शुक्रबार विजयादशमीका दिन दुर्गा विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आशीर्वाद लिने गरिन्छ । दशैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दशैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

यसक्रममा नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित आजको दिन प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिने चलन छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ । आफ्नो घरमा टीका लगाइसकेपछि नेपाली समाजमा मामाघर, ससुरालीलगायत आफन्तजनकहाँ टीकाग्रहण गर्न पुग्ने चलन रहँदै आएको छ । 

आजबाटै सडकमा समेत अघिल्लादिनहरुमा ठप्पप्रायः रहेका यातायातका साधनहरु समेत चल्ने गर्छन् । बजारमा पनि चहलपहल बढ्ने गर्छ । यही ७ गते पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । 

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर फर्किएकाहरु पूर्णिमासँगै पुनः आआफ्नो कामधाममा फर्किने गर्छन् । तर यस वर्ष  सरकारले दशैँ विदा पनि गत असोज ३० गते फूलपातीदेखि यही कात्तिक ३ गते एकादशीसम्म मात्र दिएकाले सरकारी कार्यालयहरुमा काम गर्नेहरु भने चतुर्दशीदेखि नै खुल्नेछ ।

दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै