दशैंलाई स्वस्थकर बनाउन के गर्ने ?

खरीबोट

काठमाडौँ। धार्मिक र सांस्कृतिक महत्त्वका साथै टाढाटाढा पुगेका आफन्त एकै स्थानमा भेट हुन, रमाइलो गर्न, सुखदुःख बाँड्न पाइने भएकाले दशैं कहिले आउला भनेर हामी दिन गनेर बसिरहेका हुन्छौं । हिन्दुमात्र नभई सबै नेपालीले यस बेला आआफ्नो तरिकाले उत्सव मनाइरहेका हुन्छन् । दशैंमा घरपरिवार एकै ठाउँमा भेला भई आपसमा प्रगाढ सम्बन्ध स्थापित गर्ने अवसर मिल्छ ।

दशैं आउनेबित्तिकै कोही नयाँ लुगा लगाउन, कोही साथीभाइसँग खेल्न रमाइलो गर्न अनि कोही मिठो खान पाइन्छ भनी मख्ख पर्छन् । त्यस्तै, लामो बिदा हुने भएकाले कामको तनावबाट छुट्कारा पाउन भनी कतिपय घरमै बसी तास खेल्ने, टिभी हेर्ने अथवा मोबाइल र ल्यापटपमा हराउने सोच पनि कतिपयको हुन सक्छ । यस बेला मासु, मद्यपान र धूमपानमा रमाउने पनि कम्ती हुँदैनन् । दशैंको केही दिनको रमाइलोले जीवनभर रोगको शिकार हुनुपर्ने अवस्था आउन सक्छ ।

कतिपयले दशैंमा आफ्नो स्वास्थ्यमा ध्यान नपु¥याउनाले अस्पताल दौडिनुपरेका घटना पनि धेरै छन् । त्यसैले दशैंमा आहारविहारमा विशेष सतर्कता अपनाउनु अत्यन्त जरुरी छ । 

दशैंमा जसको घरमा गए पनि खानपिनमा जोड दिने र अधिकांशको घरमा मासु र मद्यपान चल्ने भएकाले दुई दिनको रमाइलो त हो भन्दै स्वास्थ्यको ख्याल नगरी खाने चलन धेरैको छ । तर, दशैंको एक गल्तीले जीवनभर पछुताउनुभन्दा आहारविहारमा सचेत भई स्वास्थ्यको सुरक्षा गर्नु अत्यन्त आवश्यक छ । 

मद्यपान
दशैंमा मद्यपान गर्ने चलन पनि रहेको पाइन्छ । मद्यपान स्वास्थ्यको लागि निकै हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोग लाग्न सक्छ । अझ मुटुको समस्या भएका व्यक्तिले त यसलाई पूर्ण रूपमा निषेध गर्नुपर्छ । स्ट्याण्डर्ड मात्रा कायम गरी सीमित मात्रामा मद्यपान गर्नाले फाइदा गर्छ भन्ने कतिपयको धारणा छ, तर यो गलत हो ।

रक्सीले एइस्काइमिक हार्ट डिजिज र महिलाको डायबिटिजमा सकारात्मक असर पार्ने भए पनि यसले समग्रमा स्वास्थ्यसम्बन्धी धेरै समस्या बढाउँछ । यसले मस्तिष्कलाई पनि कमजोर बनाउँछ । त्यस्तै, दशैंमा मासुचिउरा बाहेक अन्य सागसब्जी र फलफूल त्यति कसैले पनि रुचाउँदैनन् । यसरी मद्यपानसहित मासुचिउरामात्र खाने हो भने यसले मुटुसम्बन्धी समस्या झन् बढाउन सक्छ । मद्यपानको कारण रोगी हुनु र जीवनलाई नै बेस्वादिलो बनाउनुभन्दा मदिरालाई टाढा राखी दशैंलाई स्वस्थकर बनाएमा परिवार र समाजलाई खुसी दिई आफूले पनि दशैंको पूर्ण आनन्द लिन सकिन्छ । 

धूमपान
दशैंमा अधिकांश मानिसहरू कामधन्दा छोडेर घरमा साथीभाइसँग जमघट गरी बस्ने हुनाले धूमपान गर्ने समूह घर अथवा टोल छिमेकमा भए प्रशस्त मात्रामा धूमपान गर्ने गर्दछन् । धूमपान क्यान्सरको प्रमुख कारक हो । यसको धुवाँले मानिसको जिनलाई असर गरी जिनमा परिवर्तन देखा पर्न थाल्छ । यहीँबाट क्यान्सरको सुरुवात हुन पुग्छ । त्यस्तै, धूमपान गर्नाले फोक्सोमा असर पर्छ र श्वासप्रश्वासमा पनि समस्या देखिन्छ ।

त्यस्तै, यसले स्मरण क्षमता पनि कमजोर बनाउने वैज्ञानिकहरू बताउँछन् । धूमपान गर्ने मानिसलाई त यसले असर गर्छ नै, उनीहरूको नजिक बस्ने अन्य व्यक्तिलाई पनि यसले असर पु¥याउँछ । दशैंमा सबै घरपरिवार एकै स्थानमा जम्मा हुने भएकाले धूमपानले आफसँगै परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउन सक्छ । त्यसैले धूमपानबाट टाढा रही आफू पनि स्वस्थ होऔं र घरपरिवारलाई पनि स्वस्थ राखौं । 

धूमपान गर्ने बानी भएका मानिसले सागसब्जी र फलफूलमा बढी जोड दिनु उपयुक्त हुन्छ । यसले धूमपानबाट शरीरमा पुगेको असरलाई केही हदसम्म कम गर्न सक्ने पनि बताइन्छ । तथापि, थोरै पनि धुवाँले शरीरलाई निकै असर गर्ने हुनाले यसबाट टाढा रहनु आफू र आफ्नो परिवारको लागि निकै राम्रो हो ।  

मासु 
एक दृष्टिले दशैं खानपिनको पनि चाड हो । दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन् । तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ । चिल्लो र कोलस्ट्रोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ ।

चिल्लो, पिरो बढी भएका परिकारले ग्यास्ट्रिक निम्त्याउन सक्छ । चिल्लो बढी भएको मासुले सीधै मुटुमा असर गर्छ । असर बढ्दै गएको खण्डमा यसले युरिक एसिड पनि बढाउन सक्छ । उच्चरक्तचाप र मधुमेहका रोगीले त यस समयमा खानपिनमा विशेष ध्यान दिनै पर्छ । 

यस बेला अस्वस्थ पशुको वध गर्ने र पसलमा पनि अस्वस्थकर मासुको विक्री हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनु जरुरी छ । बासी, सडेको, झिँगा भन्केको मासु सेवन गर्नाले झाडापखालाजस्ता धेरै प्रकारको रोग लाग्ने सम्भावना रहन्छ । 

दशैंमा कतिपयको घरमा मासु चिउराबाहेक अरु केही पनि पाक्दैन । कतिपयको त दशैंमा भात, सागसब्जी पकाउनै हुँदैन भन्ने चलन पनि छ । यो संस्कृति नभई कुरीति मात्र हो । यसले स्वास्थ्यलाई ठूलो जोखिममा पार्न सक्छ । दशैंमा आफ्नो र आफन्त, साथीभाइको घरमा जाँदा मासुचिउरामा नै बढी जोड दिइने र शारीरिक व्यायाम कम हुने भएकाले अपच हुने सम्भावना रहन्छ ।

त्यसैले यस समय दिनमा कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । त्यस्तै, शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्त्वको कमी रहन सक्ने भएकाले खानामा फलफूल, सागसब्जी, दूध, दही आदिलाई पनि समायोजन गर्नु आवश्यक छ । यसो गरेमा शरीरलाई आवश्यक तत्त्व पर्याप्त मात्रामा पुग्छ र शरीर अस्वस्थ हुनबाट जोगिन्छ । दशैंमा खानपिनमा ध्यान नदिँदा हृदयघात, मस्तिष्कघात जस्ता रोग लाग्न सक्छन् । 

व्यायाम 
त्यस्तै, दशैंमा घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने बानी पनि धेरैको हुन सक्छ । यसरी निरन्तर एकै ठाउँमा गुम्सेर बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन् ।

त्यसैले यसरी निरन्तर एउटै खालमा बसी तास खेल्ने, टिभी, मोबाइल, ल्यापटप चलाउने आदि बानी हटाउनु आवश्यक छ । यसभन्दा खुला हावामा डुल्ने, आउटडोर गेमहरू जस्तै, फुटबल, भलिबल, ब्याडमिन्टन खेल्ने, साइकल चलाउने आदि कार्यले शरीरलाई चलायमान राख्ने भएकाले परिवार मिलेर यस्ता खेल खेल्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो हो । यसरी परिवार मिलेर रमाइलो गरेमा परिवारमा पनि सद्भाव बढ्छ र जीवन स्वस्थ अनि सुन्दर हुन्छ । 

दशैंमा ठूलाबडा मांस, मदिरा र तासमा झुम्मिने प्रवृत्तिले बालबालिकामा पनि यसको नराम्रो असर पर्छ । त्यसैले दशैंलाई मांसमदिराको पर्याय बनाई स्वास्थ्य बिगारेर आफ्नो र परिवारको भविष्यमाथि खेलवाड गर्नुभन्दा यसलाई मेलमिलाप, सौहार्द, उत्सवको पर्यायको रूपमा लिई सबै हाँसीखुसी रहेर आफ्नो र आफ्नाको स्वास्थ्यको ख्याल गरी सुख र खुसीले भरिएको स्वस्थ जीवन जिउनु श्रेयस्कर छ । 

सम्बन्धित समाचार

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज

उपत्यकामा दशैँको समयमा दुर्घटनामा परेर १४ को मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, यस्तो छ शास्त्रीय मान्यता 

काठमाडौँ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ

दशैँतिहारको साइत पात्रोमै राख्न माग  

काठमाडौँ। दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ ।  राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ


z