• २०८१ बैशाख ७ शुक्रबार

दशैंलाई स्वस्थकर बनाउन के गर्ने ?

kharibot

काठमाडौँ। धार्मिक र सांस्कृतिक महत्त्वका साथै टाढाटाढा पुगेका आफन्त एकै स्थानमा भेट हुन, रमाइलो गर्न, सुखदुःख बाँड्न पाइने भएकाले दशैं कहिले आउला भनेर हामी दिन गनेर बसिरहेका हुन्छौं । हिन्दुमात्र नभई सबै नेपालीले यस बेला आआफ्नो तरिकाले उत्सव मनाइरहेका हुन्छन् । दशैंमा घरपरिवार एकै ठाउँमा भेला भई आपसमा प्रगाढ सम्बन्ध स्थापित गर्ने अवसर मिल्छ ।

दशैं आउनेबित्तिकै कोही नयाँ लुगा लगाउन, कोही साथीभाइसँग खेल्न रमाइलो गर्न अनि कोही मिठो खान पाइन्छ भनी मख्ख पर्छन् । त्यस्तै, लामो बिदा हुने भएकाले कामको तनावबाट छुट्कारा पाउन भनी कतिपय घरमै बसी तास खेल्ने, टिभी हेर्ने अथवा मोबाइल र ल्यापटपमा हराउने सोच पनि कतिपयको हुन सक्छ । यस बेला मासु, मद्यपान र धूमपानमा रमाउने पनि कम्ती हुँदैनन् । दशैंको केही दिनको रमाइलोले जीवनभर रोगको शिकार हुनुपर्ने अवस्था आउन सक्छ ।

कतिपयले दशैंमा आफ्नो स्वास्थ्यमा ध्यान नपु¥याउनाले अस्पताल दौडिनुपरेका घटना पनि धेरै छन् । त्यसैले दशैंमा आहारविहारमा विशेष सतर्कता अपनाउनु अत्यन्त जरुरी छ । 

दशैंमा जसको घरमा गए पनि खानपिनमा जोड दिने र अधिकांशको घरमा मासु र मद्यपान चल्ने भएकाले दुई दिनको रमाइलो त हो भन्दै स्वास्थ्यको ख्याल नगरी खाने चलन धेरैको छ । तर, दशैंको एक गल्तीले जीवनभर पछुताउनुभन्दा आहारविहारमा सचेत भई स्वास्थ्यको सुरक्षा गर्नु अत्यन्त आवश्यक छ । 

मद्यपान
दशैंमा मद्यपान गर्ने चलन पनि रहेको पाइन्छ । मद्यपान स्वास्थ्यको लागि निकै हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोग लाग्न सक्छ । अझ मुटुको समस्या भएका व्यक्तिले त यसलाई पूर्ण रूपमा निषेध गर्नुपर्छ । स्ट्याण्डर्ड मात्रा कायम गरी सीमित मात्रामा मद्यपान गर्नाले फाइदा गर्छ भन्ने कतिपयको धारणा छ, तर यो गलत हो ।

रक्सीले एइस्काइमिक हार्ट डिजिज र महिलाको डायबिटिजमा सकारात्मक असर पार्ने भए पनि यसले समग्रमा स्वास्थ्यसम्बन्धी धेरै समस्या बढाउँछ । यसले मस्तिष्कलाई पनि कमजोर बनाउँछ । त्यस्तै, दशैंमा मासुचिउरा बाहेक अन्य सागसब्जी र फलफूल त्यति कसैले पनि रुचाउँदैनन् । यसरी मद्यपानसहित मासुचिउरामात्र खाने हो भने यसले मुटुसम्बन्धी समस्या झन् बढाउन सक्छ । मद्यपानको कारण रोगी हुनु र जीवनलाई नै बेस्वादिलो बनाउनुभन्दा मदिरालाई टाढा राखी दशैंलाई स्वस्थकर बनाएमा परिवार र समाजलाई खुसी दिई आफूले पनि दशैंको पूर्ण आनन्द लिन सकिन्छ । 

धूमपान
दशैंमा अधिकांश मानिसहरू कामधन्दा छोडेर घरमा साथीभाइसँग जमघट गरी बस्ने हुनाले धूमपान गर्ने समूह घर अथवा टोल छिमेकमा भए प्रशस्त मात्रामा धूमपान गर्ने गर्दछन् । धूमपान क्यान्सरको प्रमुख कारक हो । यसको धुवाँले मानिसको जिनलाई असर गरी जिनमा परिवर्तन देखा पर्न थाल्छ । यहीँबाट क्यान्सरको सुरुवात हुन पुग्छ । त्यस्तै, धूमपान गर्नाले फोक्सोमा असर पर्छ र श्वासप्रश्वासमा पनि समस्या देखिन्छ ।

त्यस्तै, यसले स्मरण क्षमता पनि कमजोर बनाउने वैज्ञानिकहरू बताउँछन् । धूमपान गर्ने मानिसलाई त यसले असर गर्छ नै, उनीहरूको नजिक बस्ने अन्य व्यक्तिलाई पनि यसले असर पु¥याउँछ । दशैंमा सबै घरपरिवार एकै स्थानमा जम्मा हुने भएकाले धूमपानले आफसँगै परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउन सक्छ । त्यसैले धूमपानबाट टाढा रही आफू पनि स्वस्थ होऔं र घरपरिवारलाई पनि स्वस्थ राखौं । 

धूमपान गर्ने बानी भएका मानिसले सागसब्जी र फलफूलमा बढी जोड दिनु उपयुक्त हुन्छ । यसले धूमपानबाट शरीरमा पुगेको असरलाई केही हदसम्म कम गर्न सक्ने पनि बताइन्छ । तथापि, थोरै पनि धुवाँले शरीरलाई निकै असर गर्ने हुनाले यसबाट टाढा रहनु आफू र आफ्नो परिवारको लागि निकै राम्रो हो ।  

मासु 
एक दृष्टिले दशैं खानपिनको पनि चाड हो । दशैंमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन् । तर, ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ । चिल्लो र कोलस्ट्रोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ ।

चिल्लो, पिरो बढी भएका परिकारले ग्यास्ट्रिक निम्त्याउन सक्छ । चिल्लो बढी भएको मासुले सीधै मुटुमा असर गर्छ । असर बढ्दै गएको खण्डमा यसले युरिक एसिड पनि बढाउन सक्छ । उच्चरक्तचाप र मधुमेहका रोगीले त यस समयमा खानपिनमा विशेष ध्यान दिनै पर्छ । 

यस बेला अस्वस्थ पशुको वध गर्ने र पसलमा पनि अस्वस्थकर मासुको विक्री हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनु जरुरी छ । बासी, सडेको, झिँगा भन्केको मासु सेवन गर्नाले झाडापखालाजस्ता धेरै प्रकारको रोग लाग्ने सम्भावना रहन्छ । 

दशैंमा कतिपयको घरमा मासु चिउराबाहेक अरु केही पनि पाक्दैन । कतिपयको त दशैंमा भात, सागसब्जी पकाउनै हुँदैन भन्ने चलन पनि छ । यो संस्कृति नभई कुरीति मात्र हो । यसले स्वास्थ्यलाई ठूलो जोखिममा पार्न सक्छ । दशैंमा आफ्नो र आफन्त, साथीभाइको घरमा जाँदा मासुचिउरामा नै बढी जोड दिइने र शारीरिक व्यायाम कम हुने भएकाले अपच हुने सम्भावना रहन्छ ।

त्यसैले यस समय दिनमा कम्तीमा ३ लिटर पानी अनिवार्य पिउनुपर्छ । त्यस्तै, शरीरलाई आवश्यक विभिन्न पौष्टिक तत्त्वको कमी रहन सक्ने भएकाले खानामा फलफूल, सागसब्जी, दूध, दही आदिलाई पनि समायोजन गर्नु आवश्यक छ । यसो गरेमा शरीरलाई आवश्यक तत्त्व पर्याप्त मात्रामा पुग्छ र शरीर अस्वस्थ हुनबाट जोगिन्छ । दशैंमा खानपिनमा ध्यान नदिँदा हृदयघात, मस्तिष्कघात जस्ता रोग लाग्न सक्छन् । 

व्यायाम 
त्यस्तै, दशैंमा घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने बानी पनि धेरैको हुन सक्छ । यसरी निरन्तर एकै ठाउँमा गुम्सेर बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन् ।

त्यसैले यसरी निरन्तर एउटै खालमा बसी तास खेल्ने, टिभी, मोबाइल, ल्यापटप चलाउने आदि बानी हटाउनु आवश्यक छ । यसभन्दा खुला हावामा डुल्ने, आउटडोर गेमहरू जस्तै, फुटबल, भलिबल, ब्याडमिन्टन खेल्ने, साइकल चलाउने आदि कार्यले शरीरलाई चलायमान राख्ने भएकाले परिवार मिलेर यस्ता खेल खेल्नु स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो हो । यसरी परिवार मिलेर रमाइलो गरेमा परिवारमा पनि सद्भाव बढ्छ र जीवन स्वस्थ अनि सुन्दर हुन्छ । 

दशैंमा ठूलाबडा मांस, मदिरा र तासमा झुम्मिने प्रवृत्तिले बालबालिकामा पनि यसको नराम्रो असर पर्छ । त्यसैले दशैंलाई मांसमदिराको पर्याय बनाई स्वास्थ्य बिगारेर आफ्नो र परिवारको भविष्यमाथि खेलवाड गर्नुभन्दा यसलाई मेलमिलाप, सौहार्द, उत्सवको पर्यायको रूपमा लिई सबै हाँसीखुसी रहेर आफ्नो र आफ्नाको स्वास्थ्यको ख्याल गरी सुख र खुसीले भरिएको स्वस्थ जीवन जिउनु श्रेयस्कर छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै