• २०८१ बैशाख ८ शनिबार

दशैंको आगमनसँगै मुलुकभर दशैंघर तथा घर–घरमा जमरा राखियो

kharibot

बारा । विजयादशमी अर्थात् दशैंको पहिलो दिन बुधबार मुलुकभरको विभिन्न स्थानको दशैंघर (भवानीको मूर्ति स्थापना गरिएको स्थान)लगायत हरेक नेपालीको घर–घरमा बाजा–गाजा तथा कलश यात्रा निकाली हर्षोल्लासका साथ जमरा राखिएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडादशैं आश्विन शुक्ल प्रतिपदादेखि १५ दिन अर्थात् पूर्णिमासम्म परम्परागतअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइने परम्परा भएको हुनाले विभिन्न स्थानको दशैंघर तथा घर–घरमा जमरा राखिएको हो ।

पहिलो दिन विभिन्न स्थानका श्रद्धालु भक्तजनहरुले बिहानदेखि नै आ–आफ्नो घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश भगवानको पूजा आराधना गरी माटोको पूर्णघडामा गाईको गोबर टाँसेर जौ तथा मकै छरेर घटस्थापना गरेका छन् ।

असत्यमाथि सत्य र असुर शक्तिमाथि दैवी शक्ति विजय भएको अवसरमा मनाइने यस पर्वमा नवरात्रिको उपलक्ष्यमा आजदेखि ९ दिनसम्म लगातार विभिन्न शक्ति पीठ तथा दशैंघरमा हरेक दिन पूजा आराधना गरी देवी दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ परिने प्रचलन रहेको स्थानीय आचार्य पवनेस शास्त्रीले जानकारी दिए ।

सोही परम्पराअनुसार घटस्थापनाको अवसरमा बुधवार बारा, पर्साको विभिन्न स्थानमा रहेका दशैंघरमा विधि–विधानसहित जमरा राखेर महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवर्दुगा तथा अन्य शक्तिपीठहरुमा नवरात्री पूजा आरम्भ गरिएको छ ।

सोही अवसरमा जीतपुरमा दुर्गा पूजा समितिको आयोजनामा बुधवारदेखि बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.७ स्थित गौशालाको जग्गामा दशैंघरको निर्माण तथा मूर्ति स्थापना गरी दुर्गा पूजाको आयोजना गरेको छ ।

जीतपुरका विभिन्न क्लबहरुले विगत वर्षहरुमा बजारको छुट्टा–छुट्टै चार–पाँच वटा स्थानहरुमा दुर्गा पूजा गर्ने गरेकोले सोलाई परिवर्तन गरी समग्र रुपमा एकै ठाउँमा कलात्मक मूर्तिको स्थापना गरी दुर्गा पूजाको आयोजना गरिएको हो ।

घटस्थापनाको लागि जीतपुरस्थित पूजास्थलबाट कन्या तथा महिला र पुरुषहरु गरी करिब दुई हजार श्रद्धालु भक्तजनहरुको सहभागितामा बाजा–गाजाका साथ निकालिएको कलशयात्रा जीतपुर नगर परिक्रमा गरी राजमार्ग हुँदै बकुलियाको दुधौरा खोलाबाट जल लिएर पुनः पूजास्थलमा फर्किएको थियो ।

त्यसैगरी बाराको सिमरा, पथलैया, आमलेखगञ्ज, निजगढ, कोल्वी, परवानीपुर, नितनपुरमा पनि मंगलवार बाजा–गाजासहितको कलश यात्रा निकालिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै