• २०८१ बैशाख ६ बिहीबार

राजनीति तरंगित बनाउदै बामदेवको उम्मेदवारी : सत्तारुढ दलमै खटपट 

kharibot

काठमाडौँ।  बामदेव गौतमलाई काठमाडौँ ७ मा उपचुनाव गराएर संसदमा लैजाने विषयले अहिले सत्तारुढ दल नेकपा भित्र एक किसिमको तरंग सिर्जना गरेको छ। आम रुपमा सत्तारुढ दलका कार्यकर्ताले बामदेवलाई उपचुनाव गरेर संसदमा लैजाने विषयको विरोध र असन्तुष्टि व्यक्त गरेका छन् भने शिर्षहरुपनि ब्याकफुटमा आएका छन्। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक कार्यक्रममा यस बारे बोल्दै सिट गुमाउने गरी उपचुनाव नहुने स्पष्ट पारे। उनले भने, ‘आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं’ कार्यक्रममा उनले भने ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’ तर यसको अर्थ अन्य दलसँग तालमेल गरेर बामदेवलाई संसदमा पुर्याउने भन्ने हो कि भन्ने अनुमान गरिएको छ। साधारण रुपले हेर्ने हो भने सत्तारुध दलको आन्तरिक समीकरण र गुटकै कारणले बामदेवलाई चुनाव भैहाले जित्ने अवस्था आउने अहिले देखि नै सुरु भएका छन्।

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लिइसकेको छैन। गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ। संगठनका लागि हामी दुवै जना सिपाही हो। भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपार्इंले गरेको त्यागप्रति उँचो राख्न र तपार्इंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

बामदेवलाई काठमाडौँ ७ मा उठाउने र त्यसका लागि रामबीर मानन्धरले राजीनामाको घोषणा गरेसँगै सत्तारुढ दलका नेताहरुले आफ्नो प्रतिक्रिया दिन पनि सुरु गरेका छन्।  व्यग्यात्मक रुपमा तत्कालिन एमालेका महासचिव तथा हाल रक्षामन्त्री इश्वर पोखरेल बुधबार फेसबुकमा आफ्नो असन्तुष्टि घुमाउरो पाराले पोखेका छन्।

पोखरेलले भनेका छन्- हामी जनताले नरुचाएका वा जनतालाई हानी पुर्‍याउने रुमानी संघर्षमा रमाएनौं । हामीभित्र आत्मकेन्दि्रत जंगली महत्वाकांक्षा कहिले पनि झाँगिन पाएन, फल्न फूल्न पाएन । …हामीले क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहन चाहेनौं ।

पोखरेलले बामदेव गौतमप्रति संकेत गर्दै आफू सधैं पार्टीभित्र फूट, बिभाजन र विकृति विसंगतिको विपक्षमा उभिएको दावी गरेका छन् । पोखरेलले भनेका छन्- हामी यसक्रममा पार्टीभित्र देखापर्ने विकृति विसंगतीका विरुद्धमा जुध्यौं र त्यसका बाहकहरुलाई पराजित गर्दै अघि बढ्यौं । हामी एकताबद्ध हुने कुराको पक्षम उभिइरहृयौं, फूट विभाजनका विरुद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्‍यौं ।

नेकपाका दुवै अध्यक्षसहित झलनाथ खनाल बामदेवलाई संसदमा ल्याउनु पर्ने पक्षमा रहेको नेकपा स्रोतले बताउछ भने वरिष्ठ नेता नेपाल यस विषयमा अझै मौन रहेका छन्। पार्टीले आधिकारिक रुपमा निर्णय अझै नगरेपनि हाल बुधबारका लागि सचिवालय बैठक स्थगित हुनुले पनि अझै केहि दिन यस विषयले चर्चा पाइरहने देखिएको छ। सम्भवत शनिबार बस्ने सचिवालय बैठकले यस विषयमा केहि निर्णय गर्ने नेकपा सम्बद्ध नेताहरुले बताएका छन्।

राजनीतिक अनिष्टताको संकेत - डा.बाबुराम भट्टराई 

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं ७ मा उपचुनाव गरेर बर्दियामा हारेका बामदेवलाई संसदमा पुर्याउनु राजनीतिक अनिष्टताको संकेत भएको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले ट्विटरमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि चुनाव गराउन लागेकोप्रति आपत्ति प्रकट गर्दै भट्टराईले यस्तो बताएका हुन्। 

उनले वामदेवका लागि खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण र चरम राजनीतिक अनिष्ट भएको बताएका हुन्। उनले बेलैमा होस पुर्याएर दलीय घेराभन्दा माथि उठ्दै लोकतन्त्रको रक्षा गर्न आग्रह समेत गरेका छन्। 

'लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो’, बाबुरामले भनेका छन्,‘बेलैमा होस पुर्याऔं , दलीय घेरा भन्दामाथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं।’ 

विश्वप्रकाश शर्माको प्रष्टीकरण : काठमाडौंबाट उम्मेदवार बन्दिन 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू काठमाडौंमा उम्मेदवार नबन्ने बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १  पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाडौं–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। झापामा शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राम कार्कीसँग पराजित भएका थिए। 

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएका छन्। उनले राजीनामा दिएपछि वामदेवको प्रतिस्पर्धीको रुपमा विश्वप्रकाशको नाम चर्चामा आएको थियो। यसै सन्दर्भमा विश्वप्रकाशले आम शुभेच्छुकसँग माफी मागेका हुन्। 

उनले माफी माग्दै व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्नु नहुने कुरामा जोड दिएका छन्। ‘माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश, काठमाडौंमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन’, विश्वप्रकाशले भनेका छन्, ‘ व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’ 

सामाजिक सञ्जालमार्फत् विश्वप्रकाशले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्। उनले फेसबुकमा थप लेखेका छन्, ‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई  तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो।’         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै