• २०८१ बैशाख ८ शनिबार

दशैँ (कविता)

kharibot

खेल्दिन्छु दशैँमा पिङ
रात्री कुकुरको रुवाई संगीत
लाट्कोसेरो र हुच्चिलको शब्द संयोजनमा
अभावको छिद्र बाँसुरी बजाउँदै
उघ्दै ब्युँझिदै गाउँदा गाउँदै
समय चिप्लिसकेछ
कालो समयको बुई चढेर फेरि आयो
दशैँ !
गरिबी चराउँदा चराउँदै
पोहोर साल मरेका चाडपर्वको वर्षदिने खर्च
जुम्ल्याहा तमसुक बनेर जन्मन्छन्
न्वारन गर्दा नगर्दै
सुत्केरी अवस्थामै नाँच्छ अर्काे दशँै यत्रतत्र ।
म पनि 
श्रीमतिलाई भावनाको चोली र
फरियाले चिटिक्क पार्छु
काले र भुन्टे पनि बाहानाको 
ड्रेसमा रमाउँछन्
आफु पनि फेर्नु पर्यो
यमराजी थ्री पिस टाई सुट ।

सदा झैँ बालबच्चा नाचून्
आँसुमा विरह मुछेर खाँदै
बाध्यताको ढिकिमा ढुकु ढुकु
कुटीरहेकी छ श्रीमती
सामन्ति संस्कार र पराकाष्ठको उपजलाई
रहरका डुकुहरु निमोठ्दै घान लगाउँदै छन्
काले र भुन्टि पनि विरहको कुचोले
नव आगन्तुक दशैँलाई
दशँेको लागि केवल गुन्द्रुकको मासु र
अभावको पिठो समेत जोहो छैन
वर्षौँका बडादशैँका आशिर्वाद र वरदान
बसाँई सर्दै तुहिन्दै गरेछन्
सुनेनन् अमुर्त भगवानले
पुकार उपकार
अपहरित छन् क्यारे दुर्गा भवानीहरु
त्यसैले, त्यसैले
निर्दयी समयलाई दोस दाईजो पठाउँदै
स्वादहिन जिब्रो पड्काउँदै
निर्दाेष भोकका लिङ्गा गाडेर
उदास दरिद्रताको डोरीले घाँटिमा बाँधेर
रगतले मुछेका अक्षता र
आनन्दका जमरा भिरेर
शोषक भूमरीलाई मच्चाउन लगाउँदै
यही बडादशैँको शुभ मुहुर्तमा
सदाका लागि खेलिदिन्छु पिङ
हुई सररररररररररररर..... ।।       

-सुवास जमरकट्टेल, नेचा, सोलुखुम्बु

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै