• २०८१ बैशाख ५ बुधबार

भक्तपुरमा नौराते मेला सुरु

kharibot

तस्वीर : विकिपिडिया

भक्तपुर। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ ।

राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा टोलटोलबाट स्थानीय बाजा बजाउँदै केटाकेटी, युवायुवती, बुढाबुढीसमेत मेलामा सहभागी भएको स्थानीवासी जानकी श्रेष्ठले बताइन् ।

नौराते मेलामा पहिलो रात ब्रम्हायणी, दोस्रो महेश्वरी, तेस्रो कुमारी, चौथो भद्रकाली, पाँचौ महाकाली, छैटौं महालक्ष्मी, सातौँ इन्द्रायणी, आठौँ त्रिपुरासुन्दरी र नवौँ रात बाराहीस्थानमा गरी नौ शक्तिपीठमा मेला लाग्ने गर्दछ । ब्रमहायणीमा भने घटस्थापनाको रात, नवमीको रात र दशमीको दिनभर मेला लाग्ने गर्दछ ।

नवमीका दिन राति गछेंस्थित नवदुर्गा द्यौ छे, अर्थात नवदुर्गा मन्दिरमा रहेको महिषासुर दैत्यको प्रतीक मानिने खम्ये अर्थात राँगोलाई मदिरा खुवाएर लठ्याइ पूजा गरेर लखेट्दै राति नै ब्रह्मायणी पुर्याएर बध गर्ने परम्परा छ । भक्तपुरका संस्कृतकर्मीका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दशैं शुरु भएसँगै जीवित हुने विश्वासमा यो जात्रा मनाइन्छ ।

यही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडालाई नगर परिक्रमा गराई ‘पायो न्हयाकेगू जात्रा’ अर्थात खड्गजात्रा मनाइन्छ । नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रूपमा यो जात्रा चलिआएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै