• २०८१ बैशाख ६ बिहीबार

मानसिक रोगको उपचारमा सरकारले विशेष ध्यान दिने : उपप्रधानमन्त्री यादव

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए ।

निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उनले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै