• २०८१ बैशाख ७ शुक्रबार

अन्धोपनाबाट बच्ने उपायहरु

kharibot

चितवन । मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् ।

आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा स्वास्थ्य शिक्षा प्रशिक्षक बिमल पौड्यालका अनुसार मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन ‘ए’को अभावका कारण अन्धोपना हुने गर्दछ ।

पहिले ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यसको उन्मूलन भएको उहाँले बताउनुभयो । विशेषत ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट बच्न सकिन्छ ।

पौडेलका अनुसार नेपालमा हरेक वर्ष दुई लाख जना नेपालीको मोतिविन्दुको शल्यक्रिया हुन्छ । थप ३० हजारले शल्यक्रियाका लागि हरेक वर्ष पर्खनुपर्ने उनले बताए ।

अन्धोपनाको अर्को कारण वंशाणुगत रोग जलविन्दु हो । जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै पत्ता लागेमा रोगथाम गर्न सकिने विज्ञहरु बताउँछन् । आँखा रोग विशेषज्ञ डा पुष्पा गिरीले ४० वर्ष नाघेका व्यक्तिले आँखाको चाप परीक्षण गर्नुपर्ने सुझाव दिइन् । समय समयमा आँखा परीक्षण गरेर यो रोगको रोगथाम गर्नुपर्ने उनको सुझाव छ ।

अन्धोपनाको अर्को कारण चोटपटक हो । आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ । डा गिरीका अनुसार यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ । नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएका छन् ।

पछिल्लो समय मधुमेहका बिरामी थपिँदै गएसँगै उनीहरुको आँखा उच्च जोखिममा रहने चिकित्सकहरु बताउँछन् । समय समयमा परीक्षण नगरेमा अकस्मात अन्धोपना हुनसक्ने खतरा हुन्छ । यस्तो अवस्थामा दृष्टि फर्काउन मुस्किल पर्छ ।

डा गिरिको भनाइअनुसार मधुमेहका बिरामीले समय समयमा आँखाको परीक्षण गरेमा आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ । बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ । त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन् । कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ । समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । डा गिरिले भनिन्, “बालबालिकालाई विद्यालय पठाउनुपूर्व आँखाको परीक्षण गर्न सकेमा दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।”

यसैबीच नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले आज एक कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, पूर्वसभापति प्रभातकुमार जोशी, सभापति कृष्ण धरेल लगायतले आँखाको ज्योति गुम्नबाट बचाउन समय समयमा परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए । त्यसअघि भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी भरतपुर आँखा अस्पतालमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै