• २०८१ बैशाख १३ बिहीबार

वामदेवले चुनाव लड्दिन भनेकाले अब यो प्रकरण सकियो - प्रचण्ड 

kharibot

काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमले चुनाव लड्दिन भनेकाले अब यो प्रकरण सकिएको बताएका छन् । 

कगेश्वारी मनोहरामा आयोजित दशैँ शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले बामदेव चुनाव लड्ने विषयमा   स्वयं वामदेवले नै चुनावव नलड्ने भनेपछि अब यो प्रकरण यहि सकिएको बताए। उनले भने,  ' रामवीरको बारेमा धेरै हल्ला चलेको छ । यसमा केही टेन्सन लिनुपर्दैन । पार्टी छ, पार्टीले निर्णय गर्छ, अहिले हामी त्यो लफडातिर लाग्दैनौँ । विकास निर्माण छोडेर हामी लाग्दैनौँ । हिजोबाट वामदेवजीले नै लड्दिनँ भनिसक्नुभयो सकियो । टेन्सन नलिऔँ । हामी एकढिक्का भएर विकास र समृद्धितिर लाग्ने हो । समाजवाद निर्माण गर्ने पार्टी बन्नुपर्छ ।'

प्रचण्डले मनोहरा आउदा सडक बारे आफु चिन्तित बनेको बताउदै सडक निर्माणमा सरकारले ध्यान दिने बताए।  उनले भने, 'एकता भएपछि हाम्रो ध्यान बाटो निर्माणमै हुनुपर्छ, हिलो धूलो समाप्त हुन्छ भन्नेमा हाम्रो पार्टीको नेतृत्व तहमा सहमति भइसकेको थियो । प्रधानमन्त्री र मेरो एउटा संकल्प छ कि काठमाडौंभित्रका मूलबाटोहरु पहिला केही महिनाभित्र पिच गरिसक्ने र काठमाडौं नयाँ बनाएपछि नेपाल नयाँ बनाउने प्रक्रिया सुरु हुन्छ । यो संकल्प हामीले गरेका छौँ । केही महिनामै चाबहिल–बौद्ध सडक पिच हुनेछ । विकास निर्माणको गति देशैभर दिनु्पर्नेछ । यो नारा पनि हो ।' 

प्रचण्डले अहिलेको युग कनेक्टिभिटीको युग जति धेरै स्थानलाई जोड्नसक्यो, त्यति नै समृद्धि हुँदै जाने भएकाले मोटरबाटो, रेल, टेलिकम्युनिकेसन, हवाइयातायातबाट जति जोड्न सक्यो त्यति नै जनताको आर्थिक जीवनमा समृद्धि  आउने बताए । 

प्रचण्डले केही समययता नेपालको राजनीतिक र सामाजिक जीवनमा असाधारण महत्वका परिघटना देखेको भन्दै भने, 'राष्ट्रको जीवनमा एकपटक आउने केही त्यस्ता घटना हामीले भोगेका छौँ, अनुभूत गरेका छौँ । किनकि संविधानसभा एउटा राष्ट्रको जीवनमा प्रायः एकचोटि मात्रै हुने कुरा हो । हामीले त्यो भोग्यौँ । सहयात्री भयौँ । र त्यसबाट संविधान बनायौँ । राजतन्त्रबाट गणतन्त्रमा देश जाने भनेको पनि एउटा राष्ट्रमा सम्भवतः एकपटक आउने कुरा हो । हामी राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गर्ने परिघटनाका साक्षी भयौँ । यस अर्थमा पनि यो असाधारण छ ।'

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्ने कुरालाई सफलतापूर्वक तीन तहको निर्वाचन गर्ने कुरा पनि सामान्यतः एकपटक हुने कुरा हो भन्दै हामीले त्यो पनि सफलतापूर्वक सम्पन्न गरेको बताए। 

अहिले दुई तिहाइ बहुमत लिएर हामी सरकारको नेतृत्व गरिराखेका भन्दै उनले सबैका लागि यो ऐतिहासिक अवसर रहेको बताए। उनले भने, 'यो एउटा ठूलो चुनौती पनि हो कम्युनष्टि पार्टीहरुको लागि । हामीले जनताको अगाडि जे प्रतिबद्धता र विश्वास व्यक्त गरेका छौँ । हामीले त्यहीअनुसार सुशासन, विकास र समृद्धि दिनसक्यौँ र सरकारलाई अगाडि बढाउनसक्यौँ भने पचासौँ वर्ष नेपालमा राजनीतिक स्थिरता र कम्युनिष्ट पार्टीको नेतृत्वलाई कसैले हल्लाउन सक्नेछैन भनेर चुनाव अघि नै हामीले भनेका थियौँ । एउटा नयाँ युगको सुरुवात हुनेछ भनेका थियौँ । यदि हामीले त्यसो गर्न सकेनौँ भने फेरि त्यो हाम्रो लागि दुर्भाग्य हुन्छ । अहिले त दुई तिहाइ बहुमतको सरकार, कम्युनिष्ट सरकार छ । हिजो त दुई वटा पार्टी थिए । यो कम्युनिष्टले नगरे त्यो कम्युनिष्टले गर्ला कि भन्ने ठाउँ हुन्थयो अब त त्यस्तो स्थिति रहेन । एउटै मात्र कम्युनिष्ट पार्टी बनाइएको छ ।' 

सरकारप्रति जनताको विश्वास र भरोसा रहेको भन्दै हामी डुब्दा सबै एकैपटक डुब्ने खतरा रहेको बताए । यो एकतालाई सम्पूर्ण तागतले सुदृढ गर्नु र विकासलाई गति दिनुको कुनै विकल्प नभएको भन्दै प्रचण्डले अहिले हामी विभिन्न पक्षमा दुई अध्यक्ष मिलेर समीक्षा गरिरहेका बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै