• २०८१ बैशाख १३ बिहीबार

टीकाको दिन पोखरामा सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

kharibot

कास्की / दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

कात्तिक २ गते दशैँको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ । 

बस्नेतले भने, “दशैँ हामी पनि मान्छौँ तर जनता हाम्रो पहिलो प्राथमिकता हो । सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ ।” बस सेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ ।

त्यस्तै तालीम शिक्षालयले टीकाको दिन पोखरा बजारभित्र आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै