• २०८१ बैशाख ८ शनिबार

कुमारीको हातबाट टीका ग्रहण

kharibot

भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । 

विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो । 

कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् । 

ब्रह्मायणीमा दिनभर जात्रा 

भक्तपुरका बासिन्दाले ब्रह्मायणी मन्दिरमा भव्य जात्रा मनाएका छन् । प्रत्येक वर्ष विजयादशमीको दिन लाग्ने जात्रामा हजारौँ स्थानीयवासीको गए रातिदेखि आजदिनभरि नै भीड लागेको छ । 

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ । 

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, काभ्रे, ललितपुर र काठमाडौँका भक्तजनसमेत आएका छन् । यस दिन मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । 

हिजोदेखि व्रत बसेकाहरू आज बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसरी शरीरमा दियो बाल्नेमा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहेको छ । 

टोलटोलबाट विभिन्न धिमे, बाँसुरीलगायत विभिन्न बाजा बजाएर मन्दिरमा पूजा लैजाने र दर्शन गर्नेको ठूलै भीड लागेको छ । जात्रा आज राति मात्रै सम्पन्न हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै