काठमाडौँ। नेपालसँगै गत मार्चमा एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय राष्ट्र र स्वतः टि-२० अन्तर्राष्ट्रियको मान्यता पुनः पाएको युएईले अस्ट्रेलियासँग ऐतिहासिक टी-२० खेल्ने अवसर पाएको छ ।
यसअघि पाकिस्तानसँग टी-२० सिरिज अघि अस्ट्रेलियाले युएईसँग अभ्यास खेल खेल्ने तालिका रहेको थियो । तर पाकिस्तान क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलिया दुवैले अनुमति दिएपछि युएईसँगको उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ ।
सो खेल आगामी अक्टोबर २२ मा युएइको जायद क्रकेट स्टेडियममा खेलिने भएको छ । इमिरेट्स क्रिकेट बोर्डले सो खेलका लागि दर्शकले टिकट काट्नु नपर्ने बताएको छ ।
शारजाहमा सन् १९९४ को एसिया कपमा भारत र पाकिस्तानसँग खेलेपछि अस्ट्रेलिया युएइसँग खेल्ने सबैभन्दा ठुलो राष्ट्र हुनेछ । युएइले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेल्न लागेको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय हो।
अस्ट्रेलियाले युएइसँग खेल्ने टिममा आरोन फिन्च, ग्लेन म्याक्सवेल,एन्ड्रु टाई, क्रिस लिन जस्ता खेलाडीहरुलाई समाबेस गरेको छ।
सँगै एकदिवसीय मान्यता पाएको युएइले अस्ट्रेलियासँग खेल्ने मौका पाउदै गर्दा नेपालले भने कहिले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय मान्यताको सदुपयोग कसरी गर्छ भन्ने अझै अनिश्चित रहेको छ । मान्यता पाएपछि एमसीसीको भ्रमण बेला पारेर आईसीसीले नेदरल्याण्डसँग ऐतिहासिक २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने मौका दिएको थियो । गत अगस्टमा भएको सिरिजमा नेपालले एक जित र एक हार बेहोरेको थियो।