• २०८१ बैशाख ८ शनिबार

कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद, प्रशासनद्वारा कर्फ्यू जारी 

kharibot

तौलिहवा। कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ति विर्सजनका क्रममा विवाद उत्पन्न भएको छ । कृष्णनगर बजारभित्र नवरात्रभर पूजा गरिएका मूर्तिलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा विवाद सिर्जना भएको थियो । 

शनिबारदेखि सुरु भएको विवाद आइतबार दिनभर कायम रह्यो । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर  क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यू लगाएको जानकारी दिए । 

प्रशासनले कार्तिक ४ गते साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल–भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

कर्फ्यूको समयमा कसैलाई पनि घर बाहिर निस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम  आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । 

मूर्तिविसर्जन गर्न लैजाने क्रममा भिडियो खिच्दै गरेका केही मुस्लिम समुदायका युवा र भिडियो खिच्न रोक्न खोज्ने हिन्दु समुदायका युवाहरु बीच विवाद उत्पन्न भएको थियो । मुस्लिम समुदायका स्थानीय युवाले मूर्तिविसर्जनका बेला भइरहेको जात्रा र नाचको भिडियो खिचिरहेका थिए। 

कृष्णनगरमा अवस्थित नैमिया मस्जिद अगाडी ती मुस्लिम युवाले दुर्गा मूर्तीको भिडियो बनाएका खिचेका थिए । सोही भिडियो खिच्दै गरेको अवस्थामा हिन्दु समुदायका केही युवाले भिडियो नलिन आग्रह गरेका थिए । आग्रहलाई मुस्लिम समुदायका युवाले नमानेको भन्दै हिन्दु समुदायका युवा आक्रमणमा उत्रेपछि विवादले उग्ररुप लिएको बताइएको छ । पछि दुर्गा विसर्जन गर्न हिडेकामाथि मुस्लिम समुदायका केही युवाले ढुङ्गा प्रहार गर्न थालेपछि शनिबार दोहोरो ढुङ्गा हानाहान भएको थियो । 

मूर्तिविसर्जनका क्रममा भएको विवाद दुवै पक्षका युवाको कमजोरीमा भएको र भिडियो खिच्ने र भिडियो नखिच्न आग्रह गर्ने दुवै पक्षका युवालाई पक्राउ गरी वातावरणलाई शान्त पार्न प्रहरीलाई पटक–पटक आग्रह गरेपनि प्रहरीले कुनै चासो नलिएको स्थानीयले गुनासो गरेका छन्  । 

विजया दशमीको भोलीपल्ट हरेक बर्ष त्यहाँका हिन्दु समुदायले दुर्गाको मूर्तिविसर्जन गर्दै आए पनि यसपालि रोकिन पुगेको छ । विवादले उग्ररुप लिएपछि जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

झडपबाट स्थानीय दुई युवा घाइते भएको प्रहरीले जनाएको छ । 

सामान्य विवाद साम्प्रदायिकतासँग जोडिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सजकता अपनाएको छ। प्रशासनले राजनैतिक दल, भद्रभलाद्मीसँग बसेर सहमतिको बाटो खोज्ने प्रयास गरेको थियो । शनिबार साँझ मात्र प्रशासनले दुवै समुदायलाई राखेर सहमतिको प्रयास गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै