• २०८१ बैशाख १२ बुधबार

स्रोत, साधन र जनशक्तिको अभावमा अभिलेखको संरक्षण हुन सकेन

kharibot

फाइल तस्विर।

काठमाडौँ / स्रोत, साधन एवं जनशक्तिको अभावमा पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण अभिलेखको संरक्षण हुन सकेको छैन । 

यस्ता चीजबीजको संरक्षणका लागि राष्ट्रिय अभिलेखालयको स्थापना गरिए पनि स्रोत, साधन र जनशक्ति पर्याप्त नहुँदा पुरातात्विक वस्तुको संरक्षण गर्न नसकिएको हो । 

पुरातात्विक वस्तु भएको सूचना पाएपछि दैलेख जिल्लाको भैरवी गाउँपालिका–३ लम्जी पुग्दा स्रोत, साधन र जनशक्तिको अभावका कारण काम नसकी फर्कनुपरेको अभिलेखालयकी पुरातत्व अधिकृत मनिता न्यौपानेले जानकारी दिए । 

दैलेखबाट दुई हजार ५०० पुरातात्विक वस्तुको तस्वीर ल्याइएको छ । वैदिक कर्मकाण्ड र तन्त्रका २८ थान पुस्तक पनि अभिलेखालयले संरक्षण गरेको छ । दैलेखमा अझै धेरै यस्ता चीजबीज रहेकाले स्रोत साधनको व्यवस्था गरी फेरि जान लागिएको पुरातत्व अधिकृत न्यौपानेले बताइन् । 

“सयौँ वर्षअघिका हस्तलिखित पत्रैपत्रको ग्रन्थ आइरन गरेर मात्र पढ्न सकिने अवस्थामा पाइयो, सामग्री पाइएको स्थानमा विद्युत् नभएकाले सदरमुकाम ल्याएर आइरन गरी अभिलेखालयको सङ्ग्रहमा संरक्षण गरेर राखिएको छ”, उनले भनिन । 

हरिप्रसाद उपाध्यायका घरमा विसं १९५५ देखिका हस्तलिखित पात्रोसमेत पाएकाले अभिलेखालयको सङ्ग्रहमा संरक्षण गरिएको जनाइएको छ । 

देशका विभिन्न भागमा यस्ता सामग्री भएको सूचना आउने गरे पनि स्रोत, साधन र जनशक्तिकै कारण सङ्कलनका लागि जान नसकिएको अभिलेखालयले जनाएको छ । कार्य सञ्चालन निर्देशिकामा भएको व्यवस्थाअनुसार यस्ता कामका लागि लाग्ने समयका आधारमा सेवा, सुविधा नपाउँदा कर्मचारीले आफ्नै खल्तीको पैसा हालेर काम गर्नुपर्ने भएकाले पनि स्थलगतरुपमा काम गर्न मान्दैनन् । 

अभिलेखालयलाई यसै वर्ष विभागस्तरमा स्तरोन्नति गरिए पनि जनशक्ति, स्रोत र साधन अझै अभाव छ । चालू आवमा रु दुई करोड ५० लाख बजेट रहेको अभिलेखालयकी कार्यालय प्रमुख सौभाग्य प्रधानाङ्गले जानकारी दिए । भएको जनशक्तिले पनि अनिवार्य अवकाश पाएपछि हाल ३० जनामात्र कार्यरत छन् । पुरातत्व विभागअन्तर्गत रहँदा अभिलेखालयमा ५० को हाराहारीमा दरबन्दी थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय राष्ट्रिय दस्तावेजको संरक्षण गर्ने संस्थाका रुपमा विकास गर्न नै अभिलेखालयलाई मन्त्रालयअन्तर्गतको विभागस्तरमा स्तरोन्नति गरिएको बताउछन् । दरबन्दी बढाउने, पदपूर्ति गर्ने, थप स्रोत र साधनको पनि व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै