• २०८१ बैशाख १३ बिहीबार

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको विजयी सुरुवात

kharibot

काठमाडौँ। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । पोखराले दिएको १९८ रनको लक्ष्य पछाएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन मात्र बनाएपछि खेल  पोखराले ५८ रनले जित्न पुगेको हो। 

विराटनगरका लागि पुष्प थापा र राजु रिजालले ३०-३० रन बनाएका थिए । विराटनगरले आफ्ना ओपनर सुनिल धमलालाई ११ र प्रदीप सिंह ऐरीलाई १० रनमा गुमाएपछि संकटमा परेको थियो। विराटनगरको पारीलाई अन्य ब्याट्सम्यानले सम्हाल्न सकेका थिएनन्। विराटनगरका लागि एन्ड्रयु सुबिक्शन र कप्तान सन्दीप लामिछानेले १४-१४ रन बनाएका थिए। 

विराटनगरको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा पोखराका सबै बलरले विकेट लिएका थिए। पोखराका ललित राजबंशीले ३ विकेट लिए।  ललितले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै मोहबुब आलम, रशिद खान, बिक्रम भुसाल, कृष्ण कार्की र शरद भेसवाकरले एक एक विकेट लिएका थिए।   

यसअघि विराटनगर टाइटन्सले टस हारेर पहिला ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो । 

पोखराका लागि आसिफ सेखले सर्वाधिक ५२ रन बनाएका थिए। आसिफले पारीमा ५४ बल खेल्दै ५ चौका र एक छक्का हानेका थिए। पोखरा पल्टनका लागि भारतीय खेलाडी रवि इन्द्र सिंहले २७ बलमा ४४ रन बनाएका थिए। सिंहले आफ्नो पारीमा ४ छक्का र २ चौका हानेका थिए। त्यस्तै ओपनर कुशल भुर्तेलले राम्रो सुरुवात दिदै २६ बलमा ३८ रनको पारी खेलेका थिए।

त्यस्तै विनोद भण्डारीले तुफानी ४१ रन बनाएका थिए।  बिनोदले ११ बलमा ५ छक्का र २ चौका हान्दै ४१ रन अविजित बनाएका थिए। त्यस्तै कप्तान शरद भेसवाकरले ७ रन अविजित बनाएका थिए। पोखराले अन्तिम ओभरमा २४ रन बटुलेको थियो। 

टस जितेर पहिला बलिङ रोजेको विराटनगर टाइटन्सका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए भने शहाब आलमले एक विकेट लिएका थिए। सन्दीपले ४ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए।

११ बलमा ४१ रन बनाएका पोखरा पल्टनका बिनोद भण्डारी खेलको म्यान अफ द म्याच बनेका छन्।      

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन्। बिहान ९ बजे चितवन राइनोज र बुटवल ब्लाष्टरबीच हुने छ भने दिउसो सवा एक बजे काठमाडौँ रोयल्स र धनगढी ब्लुजबीच हुने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै