• २०८१ बैशाख ७ शुक्रबार

भूकम्पपछि बारपाकले जुनि फेर्‍यो ! 

kharibot

गोरखा । ०७२ वैशाख १२ गते नेपालीहरुले बिर्सिनै नसक्ने दिन हो, जो नेपाली पीडा र वियोगको इतिहासमा कैद भएको छ ।

हजारौँ मानिसहरुको खुसी लुटेको, कैयौँलाई टुहुरो पारेको र अर्बौँको नेपाली सम्पत्ति ध्वस्त पार्ने गरी आएको यस दिनको भूकम्पले नेपाली मानसपटलमा नमेटिने गरी मन चस्काउने पीडा त दिएकै छ, नेपाली भूगोलभित्रको एउटा सानो जिल्लाको सानो गाउँ बारपाकको चिनारी पनि अन्तर्राष्ट्रियकरण गरिदिएको छ । चार अक्षरले बनेको ‘बारपाक’को नाम उच्चारण गर्नासाथ अहिले मानिसहरु ०७२ को वैशाखको त्यही कालो दिन सम्झिन पुग्छन् । जुन दिन यसको जुनि फेर्ने दिन भयो । 

काठमाडौंबाट बिहान सबेरै बस चढे सोही दिन साँझपख बारपाक पुग्न सकिन्छ । काठमाडौंको नयाँ बसपार्कबाट बस चढेपछि कलंकी–नागढुंगा हुँदै धादिङको धार्के, चितवनको कुरिनटार र तनहुँको आँबुखैरेनीबाट पृथ्वीराजमार्ग छोडेर गोरखातर्फ लाग्नुपर्छ । 

त्यसपछि गोरखाको बाह्रकिलो, छेपेटार, चोरकाटे, भालुस्वाँरा, चनौटे, झ्याल्लाफाँट, ढोडेनी, बालुवाबजार, राङरुङ, मान्द्रे हुँदै दरौँदीलाई पछ्याउँदै पछ्याउँदै बारपाक पुग्न सकिन्छ । 


बौद्ध हिमालको काखमा अवस्थित एउटा सुन्दर बस्तीको नाम हो बारपाक । बसोबासको स्थिति, पोशाक, पहिचान, रुविनाला, बौद्ध हिमाल, नारदपोखरी, लार्केको अवलोकन गर्दै हिँड्ने मनास्लु पदयात्राको बाटोमा पर्छ बारपाक । बाटोको मनमोहक दृश्यको प्रचारप्रसारको अभाव जो कोहीले महसुस गर्न सक्छन् ।  

नारदपोखरी, राम्चे खर्क, रुविनाला, लाप्राक र विभिन्न खर्क हुँदै भ्यु प्वाइन्ट पुग्न सक्छौं । जहाँबाट सुन्दर दृश्यहरु देख्न सकिन्छ । त्यो डाँडाबाट काठमाडौंको थानकोट पनि देखिन्छ भन्ने गरिन्छ । 

देवलस्वाँरा, ताल खोला हुँदै इपि सेन्टर बारपाकबाट नादुर हिल पुग्न सकिन्छ । बौद्ध हिमाल, रुविनाला क्रस गर्न आन्तरिक तथा बाह्य पर्यटक बारपाक हुँदै पदयात्रा गर्ने गर्दछन् ।

राङरुङको आकर्षक मनमोहक झरनाले जो कोहीलाई लोभ्याउँछ । बारपाकको घना बस्ती र माथिको नाम्चे डाँडा हँुदै लाप्राक, गुम्दा, लापु, नौलीखर्क, खर्कचोक, सीता गुफा, ग्याजी तामाखानी हुँदै घ्याम्पेसाल पुग्न सकिने पदमार्ग छ, त्यहाँ पुग्न सकिन्छ । लाप्राकतिर नलागीकन नारदपोखरीतिर पनि लाग्न सक्छौँ । दरौँदीको मुहान नारदपोखरीमा जनैपूर्णिमा स्नान गर्न टाढा–टाढाबाट मानिसहरु पुग्ने गर्दछन् ।   

भित्र जे–जस्तो भए पनि बाहिरबाट आउनेले छुट्याउन सक्दैन, त्यहाँ आउनेहरु को धनी को गरिब ! सद्भाव, सहिष्णुता, एकता र समानता बारपाकको पहिचान हो । अहिले कसैको घर ३÷४ तले बनेका छन्  भने कसैको जस्ताको छानो टल्किएको देखिन्छ बारपाकमा । 

विशेषगरी ०७२ को विनाशकारी भूकम्पको केन्द्रविन्दु बनेपछि बारपाकले जुनि फेरेको छ । पहिलाको जस्तो बारपाक त अहिले छँदै छैन । तर भूकम्पपछि पीडाले डसेको मनसँगै ८० प्रतिशत घर बारपाकले पुनर्निर्माण गरिसकेको छ । स्थानीय युवाहरुको जोश जाँगर पोखिएपछि यस्तो सफलता मिलेको छ बारपाकमा अहिले । 

१४ सय ७० घरधूरी रहेको बारपाकमा विनाशकारी भुकम्पले ७२ जनालाई कहिल्यै नफर्किने गरी लग्यो । त्यो कालो दिनलाई दिमागबाट सजिलै हटाउन नसक्ने भएका छौँ हामी । दुःख र वियोगको त्यो क्षण नदोहोरियोस् भनी कामना गरिरहेका छन् बारपाकबासी । 

पहिचान कायम राख्न आकर्षक एकीकृत विकास बस्ती बनाउने कुरा पनि नचलेको हैन बारपाकमा । अहिले यो लाप्राकमा चल्दै छ । भूकम्प अगाडिको जुन पहिचान थियो, त्योभन्दा पनि पछिल्लो समय भूकम्पले चिनाएको छ बारपाकलाई । 

भूकम्प जानुभन्दा पहिला पहिला एउटै प्रकारका घर थियो, पर्यटकले चासो राख्थे, ती घरमा जुन प्रकारले पर्यटकको चासो थियो अहिले छैन । अहिले त यो गोरखा, पोखरा बजारजस्तै देखिन्छ ।

गाउँ र सहर एउटै देखिने भयो । मौलिकता छैन । भूकम्पको केन्द्रविन्दु हेरौँ, मान्छेलाई सहयोग गरौँ भनेर भूकम्पपछि बारपाकमा आउने पर्यटकको संख्या बढेको बढ्यै छ ।

आन्तरिक र बाह्य पर्यटक बढिरहेका छन् । बारपाक अध्ययन गर्न मानिसहरु आउँछन नै, नजिकको मनास्लु हिमाल र बौद्ध हिमालले पनि बारपाक सौन्दर्यमा सुनमा सुगन्ध थप्ने काम गरेको छ । 

नेपालका ठूलो बाक्लो बस्तीमा बारपाक पनि एक हो । यसलाई पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । मनास्लु ट्रेकिङ रुटमा पर्ने बारपाकको प्राकृतिक सौन्दर्य र साँस्कृतिक माधुर्यले पर्यटकको मन लोभ्याउँछ नै । 

स्थानीय पुरबहादुर गुरुङ भन्छन्, “भूकम्पभन्दा पहिले आउने, जाने पर्यटक नै फेरि आए ।” गुरुङका अनुसार उनीहरुलाई मायाले, पाइताला पाइताला गर्दै हिँडेका घरहरुले र साना बालबच्चादेखि बूढापाकासम्मका न्यानो मुस्कानले तान्यो ।

वैदेशिक रोजगारीबाट फर्केर गाउँकै पुनर्निर्माणमा लागेका उनी बारपाकलाई कसरी उकास्ने भनेर लागिपरे । आज जे–जति घरहरु निर्माण भएका छन् उनी र उनका साथीहरुबाट नै भएको हो । युवासाथीहरुसँग मिलेर पुनर्निमार्णमा बारपाकलाई कसरी अगाडि बढाउने भनेर काम गर्दै आएको उनी बताउँछन् । 

बारपाकको अर्को चिनारी हो भिसी गजे घलेको गाउँ । घले राज्यको इतिहास बोकेको ठाउँ  पनि हो बारपाक । यहाँ आफ्नै स्थानीय भाषा बोल्ने गरेको देख्न सकिन्छ । उनको सम्झनामा एउटा संग्रहालय पनि छ । खुला जीवित भूकम्प संग्रहालय बनाउने कुरा पनि चलेको छ । अहिले बारपाकमा सुविधाजनक होटेलका साथै होमस्टेको पनि व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै