• २०८१ बैशाख ७ शुक्रबार

विज्ञान र प्रविधिको विकास गर्न राष्ट्रिय नीति बनाउन जरुरी छ – प्रा.डा. मोतीलाल शर्मा (भुसाल) 

kharibot

काठमाडौँ । आज असोज १ गते अर्थात विज्ञान दिवस । राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधि भन्ने नारा सहित आज राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । २०७० साल देखि हरेक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने गरिएको छ । विज्ञान दिवसको सन्दर्भ पारेर हामीले प्राध्यापक डा. मोतीलाल शर्मा (भुसाल) सँग कुराकानी गरेका छौ ।  


अर्घाखाँची जिल्लाको सामान्य निम्न मध्यम वर्गिय किसान परिवारमा जन्मिएका रसायनशास्त्रमा विद्यावारिधि डा. शर्मा लामो समयदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गृत विभिन्न क्याम्पसहरूमा प्राध्यापनरत छन् । जिविकोपार्जनको लागि बुवाआमा भारत मुग्लान गएपछि भारतको आसाम तथा अरूणाचल प्रदेशमा प्रारम्भिक शिक्षा प्राप्त गरेपछि हाल कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका बोडगाउँमा स्थाई बसोबास र राजधानी कार्यथलो बनाएका प्रा.डा. शर्मा रसायनशास्त्रसँग सम्बन्धित विभिन्न तहका कैयौं पाठ्यपुस्तकहरू यहाँको सहलेखनमा लेखिएका छन् र उच्च माध्यमिक तथा त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा आधारित छन् र विश्वविद्यालयको पाठ्यक्रममा समेत सन्दर्भ पुस्तकमा रूपमा राखिएका छन् । 

नेपाल केमिकल सोसाइटीको कार्यकारिणी सदस्य तथा कार्यवाहक महासविच भएर काम गरेको साथै सार्क क्षेत्रका देशहरू, युरोप तथा अमेरिकामा विभिन्न कार्यक्रम तथा तालिममा सहभागी भएको अनुभव पनि संगालेका छन् । 

डा. शर्मा रसायनकशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ, हाल स्नातकोत्तर तहको प्राध्यापन तथा अनुसन्धानमा संलग्न छन् । विज्ञान दिवसको सन्दर्भमा विज्ञान र प्रविधिको विकास सम्बन्धी खरिबोट डट कमसँग भएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 


यहाँले देशको पहाड–तराई तथा विदेशको पनि अनुभव गर्नुभएको छ ? हामी विकासको सन्दर्भमा पछाडी पर्नुका कारणहरू के–के हुन सक्छन् ?

देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा ईन्टिग्रेटेड एप्रोच हो । पहाडी भू–भागको आफ्नै खास महत्व छ भने तराइको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ । त्यसैगरी हिमाल, पहाड तराई सबै ठाउँमा भूगोलको विविधता सँगै आवहवामा पनि विविधता छ । यी सबै भूगोलका मानिसहरूमा समग्र विकासको लागि एक अर्को ठाउँको खास महत्व छ । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पुर्याउन नसक्नु नै हामी विकासमा पछाडी पर्नुको खास कारण हो जस्तो मलाई लाग्दछ । 

सरकारले विज्ञान र प्रविधिको प्रयोगलाई विकासमा जोड्न सकेको छ त ?

विज्ञान र प्रविधिको विकास भन्नाले ठूला ठूला उद्योग, कलकारखाना, भु–उपग्रह, क्षेप्यास्त्र इत्यादि भन्ने झलक्कै बुझिन आउँछ, जुनकुरा अरू देशकमो लागि उनीहरूको आवश्यकता अनुसार सही हुनसक्छ । तर हाम्रो देशको सन्दर्भमा सही हुन सक्दैन । विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजीकरण हुन सक्नुपर्दछ । आम जनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम ल्याउनु पर्दछ । खासमा भन्ने हो भने सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । 

अन्य केही उदाहरणहरू ?

कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलफुल आधारित उद्योगहरू, वनपैदावारमा आधारित उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, मसला उद्योग इत्यादि कृषि तथा वनमा सामान्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

विज्ञान–प्रविधिको विकासमा सरकारी निकायहरूको भूमिका कस्तो देख्नुहुन्छ ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (Nepal Academy of Science and Technology, NAST) विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी त्रिभुवन विश्वविद्यालयको (Research Centre for Applied Science and Technology, RECAST), नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकता बमोजिमको अन्ुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । आम जनमानसले यी राज्य पोषित निकायहरू जनताले बुझ्ने गरी काम गरिरहेका छन् कि छैनन् भनेर बुझ्नु आवश्यक छ । 

नेपालको सन्दर्भमा सूचना प्रविधिको विकासलाई कसरी हेर्नु हुन्छ ?

खास गरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको छ । थोरै भए पनि दुर्गम गाउँ घरमा पनि प्रविधिको उपयोग लिन सकिन्छ,। तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन किनकी हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रुपमा मात्र प्रयोग गरिरहेका छौं । यसरी प्रविधिलाई मनोरञ्जनको माध्यम बनाइको साटो कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याई देश विकासमा अघि बढाउन सकिन्थ्यो त्यो हुन सकिरहेको छैन । उदाहरणको रूमपा बाजुरा जिल्लाको कुनै एउटा ग्रामीण भेगमा कृषि फर्म खोलियो भने त्यहाँ प्राविधिक जानकारी लिन इन्टरनेटको माध्यमबाट विज्ञहरूले त्यहाँका किसानसँग प्रत्यक्ष अन्तक्र्रिया गरी उनिहरूको समस्या बुझी समाधान गर्न सकिन्छ । यस्तै खालका कृषि, स्वास्थ्य केन्द्रमा थुप्रै प्रयोगहरू गरी देशलाई विकासको बाटो तिर अगाडी बढाउन सकिन्छ । 

अन्य देशबाट सिक्दै नेपालमा कसरी (सूचना प्रविधिको माध्यमबाट) विकास गर्न सकिन्छ ?

कुनै पनि देशको विकास हुन त्यहाँका जनताहरू आफैं जाग्नु पर्ने हुन्छ । जनताहरू आफै जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण गर्न अति आवश्यक हुन्छ । उदाहरणको लागि फ्रान्स, बेल्जियम, हल्यान्ड जस्ता देशमा त्यहाँको पुनः निर्माण युग ताका जनताहरूमा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशीरहेका छन् त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधि (Indigenous Technique) लाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरूरी छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै