• २०८१ बैशाख ८ शनिबार

नेपाली क्रिकेटको विवाद समाधानको बाटोमा, राखेपविरुद्धको मुद्धा फिर्ता लिने क्यानको निर्णय 

kharibot

काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदलाई विपक्षी बनाएर दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । 

नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको शनिबार काठमाडौंमा बसेको बैठकले गत २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्बोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् । 

राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाली क्रिकेटलाई निलम्बनको निर्णय गरेको थियो ।

निर्वाचित क्यानले आईसीसीको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको हो । गएकाे महिना आईसीसीले निर्वाचित क्यान र राखेप दुवैलाई पत्र पठाएर कानूनी प्रक्रियाको पछिल्लो अपडेट मागेको थियो भने क्यानलाई मुद्दा फिर्ता लिन तथा राखेपलाई तदर्थ समिति औपचारिक रुपमा विघटन गर्न निर्देशन दिएको थियो ।

यसैबीच निर्वाचित क्यानले मुद्दा फिर्तासँगै क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकारसम्पन्न समिति पनि बनाएको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरु दिवाकर घले, सैलेश चौधरी र सञ्जयराज सिंह छन् । 

निर्वाचित क्यानले सर्वाेच्चको मुद्दा फिर्ता लिएपछि पछिल्लो साढे २ वर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेट फुकुवाको सम्भावना प्रवल बनेको छ । घरेलु विवाद समाधान भएपछि आईसीसीले उपयुक्त मौकामा निलम्बन फुकुवा गर्ने बताउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै