• २०८१ बैशाख ८ शनिबार

नेपाल र मलेसियाबीच श्रम सम्झौता : छ महीनादेखि रोकिएको रोजगारी खुल्यो

kharibot

काठमाडौँमा सोमबार भेटवार्ता गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान । तस्वीर : सौजन्य–श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौँ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ । लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने प्रावधान समझदारीपत्रमा समेटिएको छ । अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर  भएको छ। 

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गर्नेछ । समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ । 

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् । 

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । छ महीनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो । दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो । 

मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो । 

रोजगारी खुल्न केही समय लाग्ने 

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताए । 

समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ । 

नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत छन् । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा सबैभन्दा बढी सुरक्षा गार्ड छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै