• २०८१ बैशाख १३ बिहीबार

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय

kharibot

ढाका। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि पाँच वर्षको जेल सजाय तोकिएको छ । 

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गालादेश नेसलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरुबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहेकी छन् । 

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । 

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ । जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन, तर उनका वकीलहरुले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् । 

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरु पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । उहाँलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ । 

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उहाँका वकीलहरुले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । 

गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै