• २०८१ बैशाख ७ शुक्रबार

मुलुकभरि आज भिटामिन ‘ए’ खुवाइँदै

kharibot

काठमाडौँ । मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ ।

बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ ।

भिटामिन 'ए' सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिनेछ । बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो ।

करीब एक लाख बालबालिकालाई खोप दिने लक्ष्य राखेको महानगरपालिकाले हरेक अभिभावकलाई पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

कामपाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पाखुराको नाप लिइनेछ । शहरका बालबालिकामा असन्तुलित आहारका कारण कुपोषण देखिन थालेकाले औषधि खुवाउने क्रममा पाखुराको नाप लिइन थालेको श्रेष्ठको भनाइ छ ।

हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो ।

देशभरका ७५३ स्थानीय तहमा एकै साथ यो कार्यक्रम सञ्चालन भएको छ । श्रेष्ठका अनुसार भिटामिन ए, क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ ।

कार्यक्रममा देशभर ३६ हजार बुथमा ६० हजार स्वयंसेविका/स्वास्थ्यकर्मी जनशक्ति खटिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै