• २०८१ बैशाख ८ शनिबार

भूकम्पपछि 'पहिचान' गुमाउँदै बारपाक

kharibot

गोरखा । भूकम्पले क्षतविक्षत बारपाक अहिले लगभग तंग्रिइसकेको छ । भत्केका संरचना उठिसकेका छन् । बन्द व्यवसाय सुचारु भएका छन् । घरसम्पत्तिको क्षतिले बगाएको बारपाकबासीको आँशु ओभाए पनि भूकम्पपछिको बारपाकले भूकम्पअघिको बारपाकको पहिचान दिँदैन । 

पहिला सबै एकनासको घर थियो । गरिब, धनी देखिँदैनथ्यो । सबै घरहरु ढुङ्गाले बनाएको, ढुङ्गाहरुले छाएको र बाटामा ढुङ्गैढुंगाका चप्लेटी बिछ्याइएका थिए । मौलिकता झल्किने आकर्षक घरहरुको बाक्लो बस्ती थियो बारपाक । त्यहाँ पुग्नेबित्तिकै देखिने प्राकृतिक सौन्दर्य र मौलिकशैलीका भौतिक संरचनाले मनलाई आनन्दित बनाउने दृश्य थियो बारपाकको । छुट्टै कलाकौशल थियो । भेषभुषा, संस्कृति र एकतामा पनि मौलिकता भेटिन्थ्यो तर अहिले बजारजस्तै आकर्षक घरहरु ठडिएका छन् ।

भूकम्पले तर्साएर गएपछि अहिले बारपाकमा भूकम्पप्रतिरोधी घरहरु बनेका छन् । पहिचानसँग मितेरी लगाएका बूढापाकाहरु अब पुरानो बारपाक त सम्झनामै हराएको बताउनथालेका छन् । 

“पहिला सबैको एकनासको घर थियो, हामी त्यसैमा खुसी थियौं”, बारपाकका सूर्य बहादुर घलेले भने, “सबैको एकनासको ढुङ्गाले छाएको घर थियो । अहिले हुनेको ठूला घर छन्, नहुनेका टिनको टहरा छन् ।” यद्यपि भूकम्पले थिलोथिलो पारेको गाउँले पुनर्जीवन पाएकामा भने उनले ठूलो कुरा भएको बताए । उनले थप्दै अगाडि भने, “खुसी हुने बाटो न हो, त्यो पहिलेको जस्तो आहा ! बारपाकको पहिचानचाहिँ अब हामीसँग छैन ।” त्यसमा दुःख लागेको सुनाउनेमा उनीमात्रै छैनन् । धेरैको मन कुँडिएको छ अहिलेको फेरिएको बारपाकको रुप देखेर मानिसहरुको । 

बारपाककै जय बहादुर गुरुङले भने, “अहिले होचो, अग्लो, रंगीचंगी छ । राम्रो कि नराम्रो ? राम्रै भनौं ।” तहसनहसपछि उठेको बारपाक समग्रतामा हेर्दा राम्रै देखिएको उनको भनाइ छ । त्यसो त अहिले बारपाक सफा हुँदै गएको छ । सकेअनुसार सबैले घर बनाएको बताउँदै गुरुङले अगाडि भने, “पहिलोजस्तो नभए पनि लगभग ७० प्र्रतिशतले जसोतसो ढलान गरेर पक्की घर नै बनाएर बसेका छन् ।” २० प्रतिशत मानिसले टहरा बनाएर बसेको र १० प्रतिशतजति चाहिँ अझै बनाउन बाँकी रहेकोले यो वर्ष बनाइसक्ने उनले खरीबोटसँग भने ।

त्यसो त बारपाकमा घर बनाउन नसक्नेको पडिा पनि छ । बारपाकमा घर बनाउँदा सबैभन्दा बढी खर्च मालवस्तु ढुवानीमा लाग्छ । ६४ वर्ष पुगेकी कान्छी गुरुङले भनिन्, “घर बनाउने ठाउँ छैन । छोरीसँग बस्दै आएकी छु । पैसा हुनेको लागि अहिलेको घर ठीक भए पनि हाम्रो लागि पहिलेकै घर ठीक थियो ।” अझै पनि घर बनाउन नसकेको गुनासो उनले गरिन् ।

बारपाकको पुरानो स्वरुपबारे ठट्यौली पारामा बारपाककै धनीराम घलेले भने, “पहिला नमूना गाविस थियो, त्यो भूकम्पले लग्यो, अहिलेचाहिँ नमूना छैन । झिली र मिली बारपाक मात्र बाँकी छ । पहिचान हरायो ।” अहिले स्वरुप बदलिए पनि सुविधाका दृष्टिले सन्तुष्टि लिने ठाउँ भने भएको उनको भनाइ छ । उनले भने, “अहिलेको ठीक छ, रोड बाटो आएको छ, राम्रो राम्रो घर बनेको छ । एम्बुलेन्स चाहियो भने यहीँ आइपुग्छ ।”

बारपाकको पुरानो स्वरुपबारे ठट्यौली पारामा बारपाककै धनीराम घलेले भने, “पहिला नमूना गाविस थियो, त्यो भूकम्पले लग्यो, अहिलेचाहिँ नमूना छैन । झिली र मिली बारपाक मात्र बाँकी छ । पहिचान हरायो ।”

तर पहिलेजस्तो एकनासको घरहरु देख्न नपाएकामा भने उनको मन कुँडिने गरेको छ । पुरानो बारपाकले सबैलाई एउटै वर्गका जस्तो देखाउने बारपाकमा तला थपिँदै जाँदा वर्ग पनि बढ्दै गएको देख्न सकिन्छ । सक्नेहरुका तला थपिइरहेका छन् भने नसक्नेहरुका घरमाथि टिनका छाना छन् । पहिले लुकेको वर्गीय खाडल अब भने सबैले देख्न पाउँछन् बारपाकमा कतिपय पुराना मानिसहरु अहिलेको स्वरुपसँग सन्तुष्ट छैनन् । उनीहरुका अनुसार न गाउँ न सहरजस्तो भएको छ बारपाक । पहिचान गुमेको छ । 

पहिले पहिले पुरानो बारपाक भनेर आहा क्या राम्रो बस्ती, एकनासका घर, पुराना कलाकृति कुँदिएका टुँडालहरुयुक्त मटान र बुइँगल भएको घर अब बारपाकले पुनः अतिथि र अभ्यागतलाई देखाउन नसक्ने भएको छ अहिले । 

नयाँ संरचना निर्माण र पुनर्निर्माणले बारपाक अहिले निकै व्यस्त छ । कहिलेकाहीँ नयाँ नयाँ कुराहरु पनि सुनिन्छन् । यस्तैमा खुला जीवित भूकम्प संग्रहालयको कुराले लामो समय बारपाकको दलित बस्तीलाई झुलाइदियो ।

सोही बस्तीका कृष्ण बहादुर सुनारले भने, “जग्गाधनी जग्गा दिन सहमत नहुँदानहँुदै पनि अरुले नै त्यहाँ बनाउने भनेको आधारमा योजना बनाइएको रहेछ । यसले गर्दा डेढ वर्ष अल्मलिनुपर्यो । घर बनाउन पनि पाएनौं ।” तर अहिलेचाहिँ आफ्नै जग्गामा घर बनाउन पाउने भएको सुखद समाचार उनले सुनाए । उनले भने, “साथीहरुले सुरु गरिसकेका छन् । अब म पनि सुरु गर्ने हो । म्युजियम अन्तै बन्ने भएको छ ।”

सरकारले नै संग्रहालय बनाउने भएकाले राम्रो भए पनि आफूहरुको पितापुर्खाको विरासत मेटाउने गरी बन्न लागेकामा भने आफूहरुले विरोध गरेको उनले सुनाए । 

भूकम्पले पहिचान बिर्साए पनि बारपाकमा अहिले विकास योजनाहरु आएका छन् र थुप्रै संस्थाहरुले सहयोग पनि गरेका छन् तर अहिले टाठाबाठालाई फाइदा र सोझासादालाई गाह्रो हुने अवस्था रहेको उनले यथार्थता बताए । उनले भने, “२÷४ पैसा कमाउन पनि राजनीति गर्नुपर्ने अवस्था छ । बाहिर आउने संस्था र सरकारलाई त्यस्तो कुरा थाहा छैन ।” 
त्यसो त अलि अलि पैसा हुनेहरुले घर बनाइसके पनि पैसा नभएकाहरु अलमलिएका छन् । पहिले पहिले काठढुङ्गाा जम्मा गर्दै एक आपसमा ज्यामी, पर्म साटासाट गरेर पनि राखेर ठूलै घर बन्ने गरे पनि अहिले सबै जनाको एकैचोटि बनाउनुपर्दा हुँदा खाने वर्गलाई आपत् परेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै